भोटेकोशी बाढी अपडेटः मृतकको संख्या १ हजार २ सय ९५ पुग्यो, ४ हजार ८ सय ९८ अझै बेपत्ता

दियोपोस्ट संवाददाता

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा शुक्रबार साँझ ५ बजेसम्म १ हजार २ सय ९५ जनाको शव फेला परेको छ ।

प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १ सय ४०, नुवाकोटमा १ सय ८६, धादिङमा ६५, चितवनमा ३ सय ५९, गोरखामा ७३, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय २२ र नवलपरासी पश्चिममा १ सय ९४ जनाको शव भेटिएको छ । भारतमा भेटिएको र नवलपरासी पश्चिममा बुझाइएको १८ वटा शवसमेत गरी मृतकको संख्या १ हजार २ सय ९५ पुगेको हो ।

फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनसहित आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । हालसम्म २ सय २२ महिला, ३ सय ५५ पुरुष र पहिचान खुल्न नसकेका ४ सय ५३ गरी १ हजार ३० वटा शव व्यवस्थापन गरिएको छ । व्यवस्थापन गरिएका शवलाई माटोमुनि सुरक्षित राखिएको जनाइएको छ ।

शव पहिचानका लागि मृतकका १ हजार २ सय ६० र आफन्तका ८ सय ४६ गरी कुल २ हजार १ सय ६ वटा डीएनए नमुना संकलन गरिएको छ । पहिचान हुन नसकेका १ हजार २ सय ७० शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको प्रहरीले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कामका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ । बाढीपछि बेपत्ता भएका ४ हजार ८ सय ९८ जनाको खोजी कार्य जारी रहेको छ ।

यसैगरी, विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा ३ हजार ६ सय ५५ जनालाई राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै स्थानीयवासी र विभिन्न निकायसँगको समन्वयमा उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिएको छ । बाढीका कारण अवरुद्ध भएका विभिन्न सडक तथा बाटो खुलाउने कामसमेत भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस