जापानमा नेपाली युवतीको हत्या आरोपमा तीन नेपाली पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । जापानको फुकुओका सहरमा नेपाली युवती लक्ष्मी राजवंशीको हत्या गरेको आरोपमा तीन नेपाली पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा फुकुओका सहरको हाकाता वार्डस्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत २८ वर्षीय सन्जु तामाङ, सागा प्रिफेक्चरको तोसु सहरमा बस्दै आएकी २५ वर्षीया अमिस्ता तामाङ र सोही सहरमा बस्ने २२ वर्षीय प्रबिन लामा रहेका छन् ।

जापान प्रहरीले उनीहरूलाई हत्या अभियोगमा पक्राउ गरेको जनाएको छ । झापा चन्द्रगढीकी २५ वर्षीया राजवंशी गत अगस्ट १९ मा फुकुओकाको एक खोलामा मृत अवस्थामा फेला परेकी थिइन् । अनुसन्धानका क्रममा उनको टाउकोमा प्रहार गर्नुका साथै घाँटीमा डोरीले कसेर बरन्डाबाट नदीमा खसालिएको हुनसक्ने प्रहरीको आशंका छ ।

अनुसन्धानका क्रममा मृतक राजवंशी र प्रबिन लामाबीच प्रेम सम्बन्ध रहेको तथा पक्राउ परेकी सन्जु तामाङ र प्रबिन एउटै घरमा बस्दै आएको तथ्य खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले प्रेम सम्बन्धसँग जोडिएको विवाद हत्याको पृष्ठभूमि हुनसक्ने आशंका गर्दै घटनाअघिको गतिविधि र आपसी सम्बन्धबारे थप अनुसन्धान गरिरहेको छ ।