१ लाख ५ हजार भन्दा बढी ट्रामाडोल बरामद, तीन जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । सशस्त्र प्रहरीको सूचनाका आधारमा ललितपुर प्रहरीले १ लाख ५ हजार ५३० पिस प्रतिबन्धित लागुऔषध ट्रामाडोलसहित तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार ललितपुरको भोलढोकाबाट स्कुटरमा प्लास्टिकको झोलामा राखेर ट्रामाडोल ल्याउँदै गरेका दुई जनालाई १७ हजार पिस ट्रामाडोलसहित पक्राउ गरिएको हो।

पक्राउ परेकाहरूले दिएको बयानका आधारमा ललितपुर–७, दुपाटस्थित एक कोठामा खानतलासी गर्दा थप ८८ हजार १३० पिस ट्रामाडोल बरामद भएको ललितपुर प्रहरी परिसरका एसपी गौतम मिश्रले जानकारी दिए। सो क्रममा कारोबारमा संलग्न एक महिलालाई समेत पक्राउ गरिएको उनले बताए।

एसपी मिश्रका अनुसार दुई स्थानबाट गरी कुल १ लाख ५ हजार ५३० पिस प्रतिबन्धित ट्रामाडोल बरामद भएको हो। पक्राउ परेकाहरूको रेकर्ड जाँच गर्दा उनीहरू यसअघि पनि यस्तै लागुऔषधसम्बन्धी मुद्दामा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ।

ललितपुरमा ठूलो परिमाणमा ट्रामाडोल बरामद भएको यो दोस्रो घटना भएको प्रहरीको भनाइ छ। पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी परिसर, ललितपुरमा राखिएको छ। उनीहरूमाथि थप अनुसन्धान गर्दै लागुऔषध कारोबारको मुख्य सञ्जाल पत्ता लगाउने प्रयास भइरहेको एसपी मिश्रले बताए।