रिपु घर्ती बनिन् छैठौँ मिस्टर काठमाडौँकी महिला बडीबिल्डिङ च्याम्पियन

दियोपोस्ट संवाददाता

काठमाडौँ । छैठौँ मिस्टर काठमाडौँ बडीबिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप-२०८३ अन्तर्गत महिला बडीबिल्डिङतर्फ रिपु घर्तीले उपाधि जितेकी छिन् ।

काठमाडौँ बडीबिल्डिङ एन्ड फिटनेस एसोसिएसनको आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न सात तौल समूहसहित मेन्स स्पोर्ट्स फिजिक, मेन्स एथलेटिक फिजिक, मेन्स जुनियर, मेन्स मास्टर्स, महिला एथलेटिक फिजिक र महिला बडीबिल्डिङ विधामा खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए।

महिला बडीबिल्डिङतर्फ उपाधि जितेकी घर्तीले नगद ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन् । यस्तै, महिला फिजिकतर्फ जुनी राई प्रथम भएकी छिन् भने पुरुष बडीबिल्डिङतर्फ सगेन्द्र सिंहले ओभरअल उपाधि जितेका छन् ।

प्रतियोगितामा देशभरका विभिन्न स्थानबाट आएका खेलाडीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।