
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि चीन सरकारले पठाएको चौथो चरणको आपतकालीन राहत सामग्री नेपाल आइपुगेको छ । भदौ १० गते नेपाल–चीन सीमाक्षेत्र हुँदै प्रवेश गरेको हिमबाढीले रसुवाको सीमावर्ती क्षेत्रदेखि त्रिशूली नदीका विभिन्न तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो ।
बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले चीनले पठाएको सामग्री मंगलबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले राहत सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरे ।
नेपालस्थित चिनियाँ दूतावासका अनुसार चौथो चरणको राहत सामग्रीमा विपद् उद्धारमा प्रयोग हुने होभरक्राफ्ट, स्टेनलेस स्टिलका स्थायी चुम्बक जडित बाढी नियन्त्रण पम्प, अतिरिक्त ब्याट्री, शव राख्ने फ्रिजर तथा सौर्य ऊर्जाबाट सञ्चालन हुने बत्ती लगायतका सामग्री छन् ।
दूतावासले नेपाल सरकारले गरेको माग र प्रभावित क्षेत्रमा देखिएको अत्यावश्यकतालाई ध्यानमा राखेर सामग्री उपलब्ध गराइएको जनाएको छ। यी सामग्रीले बाढी प्रभावित क्षेत्रमा आपतकालीन उद्धार, राहत तथा पुनःस्थापनाका काममा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।