
पाँचथर । मौसम विभागले भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको बताएपछि पाँचथरका सबै शैक्षिक संस्था दुई दिनका लागि बन्द गरिएको छ । सम्भावित बाढी, पहिरो तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले असोज ८ र ९ गते विद्यालय बन्द गर्न स्थानीय तहलाई निर्देशन दिएको हो ।
जिल्ला प्रशासन कार्यालय पाँचथरका अनुसार जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि १२ गतेसम्म वर्षाको उच्च जोखिम रहेको प्रक्षेपण गरेको छ । सोही पूर्वानुमानका आधारमा विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताए ।
अविरल वर्षा हुँदा जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो खस्न सक्ने तथा सडक र बस्ती प्रभावित हुन सक्ने भएकाले विद्यालय सञ्चालन गर्दा विद्यार्थी जोखिममा पर्न सक्ने प्रशासनको निष्कर्ष छ ।
विद्यालय बन्द गर्ने निर्णय भने विद्यार्थीको सुरक्षाका लागि तत्काल अपनाइएको सावधानीमात्र भएको प्रशासनको भनाइ छ । वर्षा थपिएमा जोखिम कुन तहसम्म पुग्न सक्छ भन्ने विषय भने आगामी मौसममा निर्भर रहनेछ ।
यता, वर्षाको जोखिमलाई नै कारण देखाउँदै विराटनगर महानगरपालिकाले पनि दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आज र भोलि महानगर क्षेत्रका विद्यालय बन्द रहने जानकारी दिएको हो ।
वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्ने, बस्ती र सडकमा डुबान हुने तथा सडक तथा यातायात अवरुद्ध हुन सक्ने जोखिम रहेको महाशाखाले जनाएको छ । विशेषगरी विद्यार्थीलाई विद्यालय आवतजावतका क्रममा हुन सक्ने सम्भावित जोखिमबाट जोगाउन विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।
मौसम पूर्वानुमानले जोखिमको संकेत गरिसकेको अवस्थामा विद्यालय बन्द गर्ने निर्णयले तत्काल विद्यार्थीको सुरक्षा त सुनिश्चित गर्ला तर, सम्भावित विपद्का लागि स्थानीय तह र प्रशासनको पूर्वतयारी कति पर्याप्त छ भन्ने प्रश्न भने अझै बाँकी छ ।