
काठमाडौँ । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन र सुरक्षण विशेषतासहितको एक हजार रुपैयाँ दरको नोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै ‘सिरिज २०२५’ को एक हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको जनाएको हो ।
नयाँ नोटको आकार भने यसअघि प्रचलनमा रहेको एक हजार रुपैयाँको नोटकै बराबर छ । तर यसको रङ, डिजाइन र सुरक्षण विशेषतामा परिवर्तन गरिएको छ । नोटमा बैजनी रङको घेराभित्र फिक्का हरियो रङ प्रयोग गरिएको छ । अग्रभागमा सगरमाथाको चित्र राखिएको छ भने लालीगुराँस र ‘१०००’ अंक अंकित पानीछाप राखिएको राष्ट्र बैंकले जनाएको छ ।
दृष्टिविहीन व्यक्तिले स्पर्शबाट नोट पहिचान गर्न सक्ने गरी रोमन अक्षर ‘एम’ र तेर्सा रेखासमेत राखिएको छ । नोटमा सीधा हेर्दा सुनौलो र ढल्काउँदा हरियो देखिने भगवतीको चित्र राखिएको छ । त्यस्तै, सीधा हेर्दा रातो र ढल्काउँदा हरियो देखिने चलायमान विशेषतायुक्त सुरक्षण धागो पनि प्रयोग गरिएको छ । नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा.विश्वनाथ पौडेलको दस्तखत रहेको छ।
नोटको पछाडिको भागमा भने चितवनस्थित सरकारी हात्तीसारमा देवकली नामक हात्तीबाट जन्मिएका दुर्लभ मानिने जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’को चित्र राखिएको छ । त्यस्तै, नेपालको सातवटै प्रदेशको प्रतिनिधित्व हुने गरी सातवटा लालीगुराँसका चित्र राखिएका छन् ।
पृष्ठभागमै हनुमानढोकास्थित ल्होँचोकमा रहेको ऐतिहासिक थामको आकृतिसमेत समावेश गरिएको राष्ट्र बैंकले जनाएको छ । नयाँ नोटको संकेत नम्बर ९२०००००१ बाट सुरु गरिएको छ ।
यसअघि २०७७ साउन ७ गतेदेखि चलनचल्तीमा ल्याइएको एक हजार रुपैयाँ दरको ‘सिरिज २०१९’ नोटको संकेत नम्बर ६८२००००१ देखि ९१४४०००० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।
नयाँ सिरिजको नोट बजारमा आएसँगै यसअघि प्रचलनमा रहेका एक हजार रुपैयाँका नोट भने तत्काल विस्थापित हुने छैनन् ।