
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना औंल्याएपछि ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) गण्डकीले पर्यटकलाई पदयात्रामा नजान आग्रह गरेको छ ।
टान गण्डकीले शुक्रबारदेखि आइतबारसम्म जोखिमयुक्त क्षेत्रमा पदयात्रा नगर्न र पर्यटकका नयाँ टोलीसमेत नपठाउन आफ्ना सदस्य एजेन्सीहरूलाई सचेत गराएको हो ।
महाशाखाको प्रक्षेपणअनुसार गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। केही स्थानमा भने अति भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ ।
हिमाली क्षेत्रमा हिमपात र लगातारको वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने टानको भनाइ छ । यस्तो अवस्थामा पदमार्ग मात्रै होइन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले पर्यटकको सुरक्षा चुनौतीपूर्ण बन्न सक्ने टानले जनाएको छ ।
टान गण्डकीले असोज ९ देखि ११ गतेसम्म जोखिमपूर्ण पदयात्रा क्षेत्रमा नयाँ टोली नपठाउन सदस्य एजेन्सीहरूलाई आग्रह गरेको छ। पूर्वनिर्धारित पदयात्रा कार्यक्रमसमेत पुनर्विचार गर्न भनिएको छ ।
अहिले पदयात्रा क्षेत्रमा रहेका गाइड तथा पोर्टरलाई समेत मौसमको अवस्था हेरेर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले पर्यटकको सुरक्षालाई प्राथमिकतामा राख्दै मौसम अनुकूल नभएसम्म जोखिमपूर्ण पदयात्रा नगर्न र नगराउन आग्रह गरिएको बताए ।