डोल्पाको जुफाल विमानस्थलमा सीता एयर जहाजको टायर खुस्कियो, सबै यात्रु सकुशल

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपालगञ्जबाट डोल्पाको जुफालका लागि उडेको सीता एयरको जहाज अवतरणका क्रममा टायर खस्किएर रनवेमा रोकिएको छ।

बुधबार बिहान ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा जहाजको पछाडिको दायाँतर्फको चक्का (टायर) खस्किएर बाहिर निस्किएको जिल्ला प्रहरी कार्यालय डोल्पा ले जनाएको छ ।

प्रहरीका अनुसार जहाजमा ७ जना विदेशी नागरिक र ६ जना नेपाली गरी १३ जना सवार थिए। उनीहरूमध्ये ११ जना पुरुष र २ जना महिला रहेका छन् ।

टायर खस्किएपछि जहाज अहिले विमानस्थलको धावनमार्गमै रहेको छ। जहाजमा सवार सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ।

घटनापछि विमानस्थलको धावनमार्गमा आवश्यक मर्मत तथा व्यवस्थापनको काम भइरहेको जनाइएको छ।

सिफारिस