
काठमाडौँ । गण्डकी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा, मेघगर्जन, चट्याङ तथा हावाहुरीको सम्भावना देखिएपछि उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरिएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण इलाका संरक्षण कार्यालय, सिक्लेसले विशेष सूचना जारी गर्दै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गतका सिक्लेस-कोरी, सिक्लेस-कफुचे लगायत उच्च हिमाली पदमार्गमा यात्रा तत्कालका लागि स्थगित गर्न पर्यटक तथा पदयात्रीलाई आग्रह गरेको हो ।
नेपाल मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ गतेदेखि ११ गतेसम्म) गण्डकी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको कार्यालयले जनाएको छ । प्रतिकूल मौसमका कारण उच्च हिमाली क्षेत्रमा पदयात्रा जोखिमपूर्ण हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको हो ।
कार्यालयले नदी तथा खोला किनार, खोंच र पहिरोको जोखिम भएका स्थानमा नबस्न तथा त्यस्ता क्षेत्रमा क्याम्पिङ नगर्न समेत अनुरोध गरेको छ ।
हाल पदमार्गमै रहेका पर्यटक तथा पदयात्रीलाई सुरक्षित होटल वा टी-हाउसमा बसेर मौसम सुधारको प्रतीक्षा गर्न भनिएको छ । साथै रातिको यात्रा तथा जोखिमपूर्ण सडक यात्रा नगर्न र मौसम पूर्वानुमानसँगै स्थानीय प्रशासन तथा चेकपोस्टबाट जारी हुने सूचनालाई नियमित रूपमा पालना गर्न कार्यालयले आग्रह गरेको छ ।
मौसम अनुकूल नभएसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगरी आफ्नो सुरक्षालाई प्राथमिकता दिन कार्यालयले अनुरोध गरेको छ ।
कार्यालयले उक्त सूचना मादी गाउँपालिका-१ को वडा कार्यालय, सिक्लेस तथा सिक्लेस होटल व्यवस्थापन समिति र सिक्लेस होमस्टे व्यवस्थापन समितिलाई समेत जानकारी तथा आवश्यक सूचना प्रवाहका लागि पठाएको छ ।