
काठमाडौँ । देशका विभिन्न स्थानमा स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र केही जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले जारी गरेको विशेष बाढी पूर्वानुमान बुलेटिनअनुसार आज असोज ८ गते बिहीबार देशका विभिन्न क्षेत्रमा बाढीको प्रभाव देखिन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाका अनुसार पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ र आसपासका जिल्लाबाट बहने स-साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।
त्यस्तै मकवानपुर, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, तनहुँ, कास्की, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला र कालीकोट तथा आसपासका जिल्लाबाट बहने स-साना नदी तथा खोलामा समेत बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले नदी तथा खोलाको आसपासका बस्ती, सडक, पुल तथा जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी आकस्मिक बाढीको सम्भावना रहेका क्षेत्रमा नदी तथा खोला किनारमा नजान र सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।