
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेतावनी दिएपछि प्रदेश सरकारहरू विपद् प्रतिकार्यको पूर्वतयारीमा जुटेका छन् ।
मेघगर्जन, चट्याङ र हावाहुरीसहितको वर्षाले बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानको जोखिम बढाउने भएकाले जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रदेश सरकारहरूले नागरिकलाई आग्रह गरेका छन् । केही प्रदेशले सुरक्षा निकाय तथा विपद् व्यवस्थापन संयन्त्रलाई ‘हाई अलर्ट’मा राख्दै आवश्यक उद्धार सामग्री र जनशक्ति तयारी अवस्थामा राखेका छन् ।
गण्डकी प्रदेश सरकारले असोज ९ देखि ११ गतेसम्म प्रदेशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सार्वजनिक सूचना जारी गरेको छ । प्रदेश सरकारले नदी, खोला तथा तल्लो तटीय क्षेत्रमा पानीको सतह अचानक बढ्न सक्ने र पहाडी तथा भिरालो क्षेत्रमा पहिरो जान सक्ने भन्दै नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
भारी वर्षा भइरहेको समयमा यात्रा नगर्न, अत्यावश्यक यात्रा गर्नुपरे सडक तथा मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र नदी, खोला, खोल्सा तथा तटीय क्षेत्रमा नजान गण्डकी सरकारले अनुरोध गरेको छ । बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिनसमेत भनिएको छ ।
कोशी प्रदेश सरकारले पनि असोज ९ देखि ११ गतेसम्म केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै आकस्मिक बाढी, पहिरो, कटान, गेग्रान बहाव र डुबान हुन सक्ने तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने प्रदेश सरकारको आंकलन छ ।
जोखिमको संकेत देखिए तत्काल सुरक्षित स्थानमा जान र स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गर्न कोशी सरकारले नागरिकलाई आग्रह गरेको छ ।
कर्णाली प्रदेश सरकारले भने सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै सुरक्षा संयन्त्रदेखि सडक पूर्वाधारसम्मलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।
कर्णालीका केही स्थानमा भारीदेखि धेरै भारी र एक-दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न भनिएको छ ।
सडकमा पहिरो, ढुंगा खस्ने, सडक भासिने वा पानीको बहाव बढेको अवस्थामा जोखिम मोलेर बाटो पार नगर्न पनि सरकारले आग्रह गरेको छ । त्यस्तै, आकस्मिक बाढी आउन सक्ने खोला, खहरे तथा नदी किनार र पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने परिवारलाई विपद् आउनुअघि नै सुरक्षित स्थानमा सार्ने तयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।
नदी तथा खोलाको पानीको सतह तीव्र रूपमा बढेको, पानी धमिलो भएको, ढुंगा वा रुख बगाउँदै आएको अथवा असामान्य आवाज सुनिएको अवस्थामा तत्काल अग्लो र सुरक्षित स्थानतर्फ जान कर्णाली सरकारले आग्रह गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले पनि सम्भावित बाढीपहिरोबाट हुन सक्ने मानवीय क्षति रोक्न सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखेको जनाएको छ ।
प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलका अनुसार अति भारी वर्षाको सम्भावना रहेका दार्चुला, बझाङ र बाजुराका नागरिकलाई सचेत गराइएको छ । विपद् आइपरे उद्धार तथा व्यवस्थापनमा तत्काल परिचालन हुने गरी सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको उनले बताए ।
‘कुनै पनि ठूला दुर्घटना र मानवीय क्षति हुन नदिन प्रदेश सरकार अग्रिम अलर्टमा छ,’ सरकारका प्रवक्ताले भनेका छन्, ‘सोहीअनुसार सरोकारवाला सम्पूर्ण निकायलाई हाई अलर्ट अवस्थामा राखिएको छ ।’
सुदूरपश्चिममा तीन दिनसम्म भारीदेखि धेरै भारी वर्षाको सम्भावना देखिएपछि प्रदेश विपद् कार्यकारी परिषद्को बैठक बसेर पूर्वतयारीबारे सरोकारवाला निकायसँग छलफल गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम डगौरा थारूले बताएका छन् ।
उनका अनुसार सुरक्षा निकायलाई आवश्यक बन्दोबस्तीका साथ तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । विपद्सँग सम्बन्धित संघसंस्थालाई समेत तयारी अवस्थामा रहन आग्रह गरिएको छ । प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई चौबिसै घण्टा सञ्चालनमा राखिएको छ । केन्द्रले मौसम तथा विपद्सम्बन्धी सूचना आदानप्रदानसँगै सबै जिल्लाबाट विवरण संकलन गर्ने व्यवस्था मिलाएको जनाएको छ ।
सुदूरपश्चिम सरकारले सम्भावित बाढीपहिरो प्रभावितका लागि आवश्यक राहत सामग्रीसमेत मौज्दात रहेको जनाएको छ । त्रिपाललगायत गैरखाद्य सामग्रीको अभाव हुन नदिने प्रदेश सरकारको भनाइ छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा आसपास विकसित न्यूनचापीय प्रणाली अहिले बंगालको खाडीको मध्य भाग आसपास रहेको छ । उक्त प्रणाली थप शक्तिशाली हुँदै उत्तरपश्चिमतर्फ सर्ने क्रममा देशका विभिन्न भागमा वर्षाको गतिविधि बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।
यसबीच प्रदेश सरकारहरूले नागरिकलाई मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा लिन, जोखिमयुक्त क्षेत्रमा नबस्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरेका छन् ।
कर्णाली सरकारले वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको ११५५, विपद्मा सहयोगका लागि १२३४ नेपाल प्रहरीको १००८८र सशस्त्र प्रहरी बलको १११४ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ ।
सम्भावित विपद् टार्न प्रदेश सरकारहरूले पूर्वतयारी तीव्र बनाए पनि जोखिमयुक्त बस्तीका नागरिकको समयमै सुरक्षित स्थानान्तरण, सडक तथा पुलको अवस्था र उद्धार सामग्रीको उपलब्धता भने आगामी तीन दिनमा मुख्य चुनौती बन्ने देखिएको छ ।