
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएका एक भारतीय सुनसहित पक्राउ परेका छन् । कतारको दोहाबाट काठमाडौँ आएका ४२ वर्षीय भारतीय नागरिक मोहम्मद चेरा थोडी पक्राउ परेका हुन् ।
थोडीलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको पार्किङ क्षेत्रबाट ५ सय ३६ ग्राम सुनसहित पक्राउ गरिएको हो ।
विमानस्थल सुरक्षा प्रहरी कार्यालयबाट खटिएको टोलीले शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा उनको साथबाट सुन बरामद गरेको जनाएको छ । प्रहरीले बरामद धातु सुन नै हो वा सुनजस्तो देखिने धातु हो भन्ने विषयमा आवश्यक परीक्षण तथा अनुसन्धान अघि बढाउने प्रक्रिया रहने गरेको छ ।
पक्राउ परेका भारतीयले सुन कसका लागि, कहाँबाट र कसरी ल्याएका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको आगमन क्षेत्र, पार्किङ तथा बाहिरी क्षेत्रमा समेत प्रहरीले निगरानी बढाउँदै आएको छ । विमानस्थल सुरक्षा कार्यालयले अवैध सामान ओसारपसार रोक्न अन्य सुरक्षा निकायसँग समन्वय गर्दै आएको जनाएको छ।