
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाएको छ। अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेसँगै यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले यस्तो निर्णय गरेको हो।
जल तथा मौसम विज्ञान विभागले धादिङसहित आसपासका क्षेत्रमा आगामी केही दिन भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि प्रशासनले रात्रिकालीन सवारी आवागमन बन्द गर्ने निर्णय गरेको जनाएको छ।
प्रशासनले जारी गरेको सूचनाअनुसार आज राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन बन्द हुनेछ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय ९गौतम०द्वारा जारी सूचनामा यात्रु तथा सवारी चालकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।
यस्तै, जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनको पूर्ण पालना गर्न प्रशासनले अनुरोध गरेको छ।