
काठमाडौं- नेपाली कांग्रेसको आगामी १५ औँ महाधिवेशन नजिकिँदै गर्दा धादिङका जेनजी युवा आश्विन दुवाडी पार्टीको केन्द्रीय तहको राजनीतिमा प्रवेश गर्ने तयारीमा जुटेका छन्। सानै उमेरदेखि राजनीति र समाजसेवामा सक्रिय धादिङ ज्वालामुखी-४ का दुवाडीले आगामी महाधिवेशनमार्फत केन्द्रीय राजनीतिमा आफ्नो उपस्थिति गराउने भएका हुन्।
विद्यालय तहदेखि नै नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीतिमा आबद्ध दुवाडी २०८१ चैतमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा त्रिभुवन विश्वविद्यालय सेन्ट्रल क्याम्पसमा सचिव पदका उम्मेदवार थिए। साथै, २०८२ फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनमा धादिङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस हुने उनी नेपाली कांग्रेसका सबैभन्दा कम उमेरका व्यक्ति हुन्।
यसैबीच, नेपाली कांग्रेस धादिङको गाउँपालिका तथा नगरपालिका अधिवेशन आज जिल्लाका १३ वटै स्थानीय तहमा सुरु भएको छ। मौसम प्रतिकूल रहे तापनि हालसम्म अधिवेशन स्थगित नगरिएको र प्रतिनिधिहरू आ-आफ्नो पालिकाको अधिवेशनस्थल पुग्ने क्रम जारी रहेको छ। यद्यपि, काठमाडौंमा रहेका केही प्रतिनिधिलाई भने मौसमका कारण धादिङ पुग्न कठिनाइ भइरहेको बुझिएको छ।
कांग्रेस धादिङका अनुसार जिल्लाका १३ वटा पालिका अधिवेशनमा कुल ३ हजार १३१ जना प्रतिनिधिले मताधिकार प्रयोग गर्नेछन्। जसमा १०४ वडाका वडा सभापतिहरू पदेन प्रतिनिधि र वडा अधिवेशनबाट निर्वाचित ३ हजार २७ जना प्रतिनिधि सहभागी छन्।
यस पालिका अधिवेशनबाट गाउँपालिका तथा नगरपालिकाको सभापतिसहित पदाधिकारी र कार्यसमिति चयन हुनेछन्। सर्वसम्मत रूपमा नेतृत्व चयन हुन नसकेका पालिकाहरूमा निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गरिने जनाइएको छ। मौसमको अवस्था र प्रतिनिधिहरूको उपस्थितिलाई ध्यानमा राख्दै सम्बन्धित पालिकाको निर्वाचन समितिले आवश्यक निर्णय लिने कांग्रेस धादिङले जनाएको छ।