म्यानपावर सञ्चालक विकास गुरुङको ठगी धन्दाः मकाउ पठाउने भन्दै लाखौँ असुली, रकम फिर्ता माग्दा सम्पर्कविहीन

दियोपोस्ट संवाददाता

काठमाडौँ । ब्राइट ओसन ओभरसिस र त्यसका सञ्चालक विकास गुरुङले वैदेशिक रोजगारीका नाममा लाखौँ रुपैयाँ ठगी गर्दै आएको आरोप लागेको छ । बैदेशिक रोजगारीमा मकाउ पठाइदिने भन्दै नेपाली युवाबाट लाखौँ रुपैयाँ असुल गरि ठगी गरेको आरोप लागेको हो ।

वैदेशिक रोजगारीका लागि कमाउन जाने सपना बोकेर म्यानपावर कम्पनीलाई लाखौँ रुपैयाँ बुझाएका बुटवल-११ देवीनगरका शैलेन्द्र बुढाथोकीले आफु उक्त म्यानपावर कम्पनी र सञ्चालक गुरुङबाठ ठगिएको बताए । बुढाथोकीका अनुसार सुरुमा उनलाई मकाउको एक कम्पनीमा सेक्युरिटी गार्डका रूपमा पठाउने भन्दै ओभरसिसमार्फत प्रक्रिया अघि बढाइएको थियो । उनी उक्त कम्पनीका लागि छनोटसमेत भएका थिए ।

त्यसका लागि उनले ३ लाख रुपैयाँ डिपोजिट बुझाए । म्यानपावरले तीन महिनाभित्र फ्लाइट हुने आश्वासन दिएको थियो । तर तीन महिना बित्यो, चार महिना बित्यो-भिसा आएन । भिसाका लागि आफूले थप लाखौँ रुपैयाँ खर्च गरिसकेको भन्दै बुढाथोकीले म्यानपावरसँग डिपोजिट फिर्ता मागे । तर उनको दाबीअनुसार म्यानपावरले रकम फिर्ता दिनुको सट्टा अर्को कम्पनीमा पठाउने प्रस्ताव गर्‍यो ।

त्यसपछि म्यानपावर सञ्चालक गुरुङले उनलाई फोन गरेर अर्को कम्पनीबाट ‘डिमान्ड’ आएको र कम्पनी पनि राम्रो रहेको भन्दै त्यहीँ जान दबाब दिएको बुढाथोकीको भनाइ छ ।’मलाई त्यो कम्पनीमा जान खासै इच्छा थिएन । तर पहिल्यै दिएको डिपोजिट फिर्ता नदिने भएपछि बाध्य भएर उहाँले भनेकै कम्पनीमा जानुपर्‍यो,’ उनले भने ।

गुरुङले नयाँ कम्पनी नराम्रो परेमा वा काम राम्रो नभएमा रकम फिर्ता गरिदिने आश्वासन दिएको पनि बुढाथोकीको दाबी छ । १० लाख ५० हजार तिरेर आफु मकाउ पुगेको उनले बताए । बुढाथोकी २०८२ जेठमा गुरुङले भनेकै कम्पनीमा पुगे । तर त्यहाँ पुगेपछि मात्रै आफूलाई देखाइएकोभन्दा कम्पनीको अवस्था फरक रहेको थाहा भएको उनी बताउँछन् ।

‘कम्पनी त्यति राम्रो रहेनछ । त्यहाँ गएपछि मात्रै थाहा भयो,’ उनले भने, ‘गाह्रो भए पनि दुःख गरेर काम गरिरहेको थिएँ ।’ तर समस्या त्यतिमै रोकिएन । आफूले १० लाख ५० हजार रुपैयाँ खर्च गरेर विदेश पुगे पनि कम्पनीले भिसा नलगाइदिएको उनको दाबी छ ।

भिसा नलागे पनि केही महिना काम गरेको र कम्पनीमा आफ्नो भिसा नलागेको विषय पटक-पटक गुरुङलाई जानकारी गराएको उनले बताए । तर आफूले गरेको गुनासोप्रति गुरुङले चासो नदिएको उनको आरोप छ । ‘मैले धेरै पटक भिसा नलागेको कुरा उहाँलाई भनेँ । तर मेरो कुरा सुनिएन,’ बुढाथोकीले भने । अन्ततः ऋण गरेर विदेश गएको रकमसमेत तिर्न नपाउँदै उनी एक वर्ष नपुग्दै नेपाल फर्किन बाध्य भए ।

नेपाल फर्किएपछि अर्को विपत्तिः
विदेशबाट फर्किएलगत्तै बुढाथोकी अर्को दुर्घटनामा परे । उनका अनुसार नेपाल फर्किएपछि घरकै अगाडी दुईवटा साँढेले हानेर उनी गम्भीर घाइते भए । उनको दायाँतर्फ पाँचवटा करङ भाँचिएको छ । उनी तीन महिनादेखि उपचारका क्रममा ओछ्यानमै छन् ।

‘उपचारमा हजारौँ रुपैयाँ खर्च भइसक्यो । विदेश जाँदा लागेको ऋण पनि तिर्न सकेको छैन । अहिले अशक्त भएर अरू काम गर्न सक्ने अवस्था पनि छैन,’ उनले भने । आफूले तिरेको रकम फिर्ताका लागि म्यानपावर सञ्चालक गुरुङसँग पटक-पटक सम्पर्क गर्ने प्रयास गरेको उनले बताए ।

बुढाथोकीका अनुसार नेपाल फर्किएपछि र घाइते भएपछि उनले गुरुङलाई पटक-पटक फोन गरेका थिए । सुरुमा गुरुङ सम्पर्कमै रहेको र आफूलाई ‘आधा पैसा फिर्ता गरिदिन्छु’ भनेको उनको दाबी छ । तर पछिल्लो समय गुरुङ सम्पर्कविहीन भएको बुढाथोकी बताउँछन् ।

‘सुरुमा कुरा हुन्थ्यो । आधा पैसा फिर्ता गरिदिन्छु भन्नुभएको थियो । अहिले सम्पर्कमै आउनुहुन्न,’ उनले भने । गुरुङले आफु लगायत अन्य ब्यक्तिलाई पनि बिदेश पठाइदिने नाममा ठगी गरेको र पैसा फिर्ता गर्नु पर्ने दवाव थेग्न नसकी मलेसियामा लुकेर बसेको जानकारी पाएको उनले बताए ।

त्यसमाथि अहिले उपचार खर्च थपिएको छ । काम गर्न नसक्ने अवस्थामा रहेका उनले आफूले तिरेको रकम फिर्ता गराइदिन आग्रह गरेका छन् । ‘मेरो पैसा फिर्ता गरिदिए मलाई निकै राहत हुने थियो,’ उनले भने । पैसा फिर्ता नगरेको खण्डमा आफु म्यानपावर कम्पनी र सञ्चालक बिरुद्ध कानुनी लडाइँ लड्ने उनको भनाई छ ।

यस विषयमा दियोपोष्टले ब्राइट ओसन ओभरसिस र सञ्चालक विकास गुरुङको प्रतिक्रिया लिन सम्पर्क गर्ने प्रयास गरेको थियो । तर म्यानपावर कम्पनीको कार्यालयको फोनमा आगमन कल निषेध गरिएको पाइयो ।

बुढाथोकीले आफूले म्यानपावरलाई बुझाएको रकम, वैदेशिक रोजगारीका लागि गरेको खर्च तथा त्यसपछि भोगेको आर्थिक र शारीरिक क्षतिको न्यायोचित सम्बोधन हुनुपर्ने माग गरेका छन् ।