
झापा । सशस्त्र प्रहरी बल, नेपालले झापा जिल्लाका जोखिमयुक्त क्षेत्रहरूमा विपद् जन्य जोखिम न्यूनीकरण तथा पूर्वतयारीका गतिविधिहरू तीव्र बनाएको छ।
आश्विन ८ देखि १२ गतेसम्म सञ्चालित अभियानअन्तर्गत सशस्त्र प्रहरीले जिल्लाका विभिन्न स्थानमा नियमित रूपमा जनसचेतनामूलक म्याकिङ तथा सम्भावित विपद् लक्षित पूर्वतयारीका कार्यहरू गरिरहेको छ।
विशेष गरी मेची, कनकाई, रतुवा नदी र बिरिङ खोलालगायतका नदी तटीय क्षेत्र तथा नजिकका जोखिमपूर्ण गाउँबस्तीहरूमा सशस्त्र प्रहरी टोलीले नियमित गस्ती गर्दै म्याकिङमार्फत स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिरहेको छ।
विपद् व्यवस्थापन, खोज तथा उद्धार कार्यलाई थप सुव्यवस्थित, द्रुत र प्रभावकारी बनाउन सशस्त्र प्रहरीले विशेष ट्र्याकिङ र अभिलेख प्रणालीसमेत लागू गरेको छ। प्राकृतिक विपत्तिको समयमा नागरिकको जीवन रक्षाका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता सशस्त्र प्रहरी बलले जनाएको छ।
विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सशस्त्र प्रहरीले झापामा निम्नानुसारका विशेष रणनीति तथा सतर्कता अपनाएको छ ।
पूर्वसूचना र अनुगमन : खोला तथा नदीको नियमित निगरानी गर्ने, पानीको सतह, बहावको तीव्रता र तटबन्धको अवस्थाबारे ‘अब्जरभेशन रेकर्ड’ राखी सम्भावित जोखिम देखिनासाथ तत्काल सम्बन्धित युनिटमा सूचना आदानप्रदान गर्ने।
जोखिम नक्साङ्कन र गस्ती : जोखिमयुक्त खोला तथा नदीहरूको पहिचान र नक्साङ्कन गरी प्रभावित हुन सक्ने क्षेत्रहरूमा नियमित गस्ती (पेट्रोलिङ) गर्ने।
विशेष निगरानी : जोखिममा रहेका पुल, तटबन्धन, कमजोर नदी किनार, नजिकका बस्ती तथा डुबानको उच्च सम्भावना भएका स्थानहरूमा विशेष निगरानी बढाउने।
तुरुन्त उद्धार तयारीस् पूर्वसूचना प्रणालीलाई चुस्त बनाउँदै जुनसुकै समयमा पनि तत्काल उद्धारमा खटिन सक्ने गरी जनशक्ति र स्रोतसाधन तयारी अवस्थामा राख्ने।
सशस्त्र प्रहरीको यस सक्रिय निगरानी, पूर्वतयारी र द्रुत उद्धार योजनाले सम्भावित विपद्को जोखिम घटाउनुका साथै स्थानीय जनमानसमा सुरक्षा र विश्वासको अनुभूति दिलाउने अपेक्षा गरिएको छ।