आज र भोलि पनि झरी, आइतबारदेखि मौसम सुधार हुने सम्भावना

दियोपोस्ट संवाददाता

काठमाडौँ । देशभरका अधिकांश भू-भागमा बिहीबारदेखि निरन्तर वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहँदा वर्षा भइरहेको हो ।

भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ आसपासमा बनेको बलियो न्यून चापीय प्रणाली उत्तर-उत्तरपश्चिमतर्फ सर्ने क्रममा रहेकाले त्यसको प्रभाव नेपालको मौसममा परेको विभागले जनाएको छ। उक्त प्रणाली आगामी २४ घण्टाभित्र क्रमशः कमजोर हुँदै जाने अनुमान गरिएको छ।

मौसमविद्हरूका अनुसार आज र भोलि पनि देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ। आइतबारदेखि भने मौसम क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको विभागले जनाएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू-भागका अधिकांश स्थान तथा सुदूरपश्चिमको हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

देशका पहाडी तथा तराई भू-भागका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षा हुनसक्ने तथा मधेस प्रदेशसहित तराईका भू-भागमा हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

आज राति पनि देशभर अधिकांश भू-भागमा बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हिमपात तथा मध्यम वर्षा जारी रहने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने तथा लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।

लगातारको वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी तथा पूर्वतयारी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

विभागले मौसमसम्बन्धी आधिकारिक बुलेटिन तथा पूर्वानुमान निरन्तर सार्वजनिक गरिरहेकाले सर्वसाधारणलाई आधिकारिक सूचनामार्फत मौसमको अद्यावधिक जानकारी लिन आग्रह गरिएको छ।

सम्बन्धित खबर

सिफारिस