
फाइल तस्विर
काठमाडौँ । बुधबारदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ आवतजावत गर्ने प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। लगातारको वर्षापछि पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडकखण्डमा विभिन्न स्थानमा पहिरो खस्दा यातायात प्रभावित भएको हो।
धादिङतर्फ पृथ्वी राजमार्गको कृष्णभीर, जरे, जवाङखोला, परेवाभीर, कमेरेभीर, ज्यामिरेलगायत स्थानमा पहिरो खसेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।
कृष्णभीरमा रातिदेखि नै पहिरो र ढुंगा खसेको थियो। सडकमा खसेको पहिरो पन्छाउने काम भइरहेको भए पनि निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्ने र पहिरो पन्छाउने काममा समेत अवरोध भइरहेको प्रशासनले जनाएको छ।
यस्तै, पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ फिस्लिङनजिक धारापानीमा सडक भासिएको छ। शुक्रबार बिहान करिब सवा ६ बजे सडक भासिएपछि उक्त स्थानमा समेत यातायात अवरुद्ध भएको छ।
लगातारको वर्षाका कारण थप विपद् तथा जोखिम निम्तिन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङ र चितवनले शुक्रबार सूचना जारी गरी अर्को सूचना जारी नभएसम्म राजमार्गमा सवारीसाधनको आवागमनमा पूर्ण रोक लगाएका छन्।
मुग्लिन-नारायणगढ सडकखण्डमा समेत पहिरो र सडक भासिने समस्या देखिएपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको प्रशासनले जनाएको छ।
नेपाल मौसम विज्ञान विभागले आगामी असोज ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुनसक्ने चेतावनी दिएको छ। वर्षा अझै जारी रहने पूर्वानुमान रहेकाले पहिरो, बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।