पहिरोले बीपी राजमार्ग र कान्तिलोकपथ सडक पूर्णरूपमा अवरुद्ध

दियोपोस्ट संवाददाता

काठमाडौँ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण पहिरो र लेदो खस्दा बीपी राजमार्ग र कान्तिलोकपथ सडक पूर्णरूपमा अवरुद्ध भएका छन्।

ललितपुर प्रहरीका अनुसार काठमाडौँ-हेटौँडा जोड्ने कान्तिलोकपथ सडकखण्डअन्तर्गत ललितपुरको बागमती गाउँपालिका-३ पाँचधुरे, पयाङधुर र टिकाभैरवमा पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो।

सडक माथिबाट पहिरो खसेर यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

यस्तै, अविरल वर्षापछि आएको पहिरो र लेदोका कारण काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालयका अनुसार बीपी राजमार्गअन्तर्गत नमोबुद्ध-६ को चौकीडाँडा, रोशी-७ को चारसयवेशी, रोशी-८ को गिम्दीवेशी र रोशी-११ को माम्तीमा पहिरो खसेको छ।

वर्षा भइरहेकाले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन समय लाग्ने प्रहरीले जनाएको छ। सडकको अवस्था जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले यात्रुलाई आग्रह गरेको छ।

यसैबीच, काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

सम्बन्धित खबर

सिफारिस