अविरल वर्षाका कारण देशभरका दर्जन बढी सडक अवरुद्ध, सबैभन्दा बढी बागमतीमा

दियोपोस्ट संवाददाता

काठमाडौँ । अविरल वर्षापछि आएको बाढी, पहिरो, लेदो र सडक भासिने क्रम नरोकिँदा देशभरका दर्जनभन्दा बढी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । गृह मन्त्रालयअन्तर्गतको विपद् प्रतिकार्य समन्वय तथा संस्थागत सुदृढीकरण शाखाले शुक्रबार बिहान १० बजेसम्मको अवस्था सार्वजनिक गर्दै देशभरका १४ वटा राजमार्ग तथा सडकखण्ड अवरुद्ध रहेको जनाएको हो ।

सबैभन्दा बढी सडकखण्ड बागमती प्रदेशमा मात्रै १० वटा अवरुद्ध छन् । रसुवामा भदौ १० गतेदेखि नै बाढीका कारण बारा घुम्ती-रसुवागढी पासाङल्हामु राजमार्ग अवरुद्ध छ । त्रिशूली–बेत्रावती हुँदै रसुवागढीसम्मको सडक र नुवाकोटको त्रिशूली–बेत्रावती खण्डअन्तर्गतको मैलुङ-स्याफ्रुबेंसी सडक पनि बन्द छन् ।

धादिङको गजुरी गाउँपालिका-२ स्थित फुर्केखोलामा बाढी आएपछि कालुपाण्डे राजमार्ग समेत सञ्चालनमा छैन । पृथ्वी राजमार्गको अवस्था पनि उस्तै छ । धादिङको बेनीघाटरोराङ-७ कृष्णभीर र वडा नम्बर १० तिङराङखानीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना-४ धारापानीमा सडक भासिएपछि त्यहाँ पनि आवागमन रोकिएको छ ।

कान्तिलोकपथमा तीन ठाउँमा पहिरो र लेदोले बाटो छेकेको छ । ललितपुरको गोदावरी-६ बिर्खेंधारा तथा बागमती-३ का पाङदुरडोल र टाकुर्चेमा पहिरो गएको छ । मकवानपुरको भीमफेदी-८ खहरे खोल्सामा लेदो आएपछि सडक अवरुद्ध भएको छ ।

काभ्रेमा बीपी राजमार्ग पनि पहिरोका कारण बन्द छ । रोशी गाउँपालिका-७ चारसयवेशी र वडा नम्बर ८ गिम्दीवेशीमा पहिरो खसेपछि राजमार्गको आवागमन रोकिएको हो ।

कोशी प्रदेशमा पनि दुई सडकखण्ड अवरुद्ध भएका छन् । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-६ स्थित भँडारे खोलामा बाढी आएपछि सिद्धिचरण लोकमार्ग बन्द भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ गुप्तबराहमा पहिरो खसेपछि चतरा-बराहक्षेत्र सडक अवरुद्ध भएको मन्त्रालयले जनाएको छ ।

लुम्बिनी प्रदेशमा दुई सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द भएका छन् । गुल्मीको कालिगण्डकी गाउँपालिका–२ रावसे र वडा नम्बर ४ पातिखोलामा पहिरो खसेपछि कालिगण्डकी करिडोर अवरुद्ध भएको छ ।

रोल्पाको माडी गाउँपालिका-२ ब्याङखोलामा पहिरो गएपछि घोराही-थवाङ सहिदमार्ग पनि पूर्ण रूपमा बन्द भएको छ । लगातारको वर्षाका कारण सडक अवरुद्ध हुने क्रम बढेपछि यात्रु तथा सवारी चालकलाई जोखिमयुक्त सडकखण्डमा विशेष सावधानी अपनाउनुपर्ने अवस्था देखिएको छ ।

सम्बन्धित खबर

सिफारिस