राष्ट्रसंघीय महासभामा बालेनको सम्बोधन: विज्ञ र नेताहरूबाट मिश्रित प्रतिक्रिया (कसले के भने?)

दियोपोस्ट संवाददाता

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले भोटेकोशी–त्रिशूली विपत्तिलाई बदलिँदो हिमाली जलवायुको गम्भीर चेतावनीका रूपमा प्रस्तुत गरेका छन्। हिमनदी पग्लिने, पर्माफ्रस्ट अस्थिर हुने र बाढी-पहिरोको जोखिम बढिरहेकाले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ गठन गरी तथ्यांक साझा गर्ने, हिमतालको निगरानी गर्ने र संयुक्त पूर्वसूचना प्रणाली लागू गर्ने प्रस्ताव उनले राखेका छन्।

अन्तर्राष्ट्रिय मञ्चमा प्रधानमन्त्री शाहको सम्बोधन, उठाइएका विषयवस्तु र प्रस्तुतीकरणलाई लिएर नेपालका राजनीतिक नेता, अधिकारकर्मी तथा वातावरण विज्ञहरूले सामाजिक सञ्जालमार्फत विभिन्न प्रतिक्रिया दिएका छन्।

नेता तथा विज्ञहरूका प्रतिक्रिया:

१. सुनिल बाबु पन्त (अधिकारकर्मी तथा पूर्वराजनीतिज्ञ):

“प्रधानमन्त्रीले जलवायु परिवर्तनका कारण भोगिरहेको बाढी, पहिरो र मानवीय पीडालाई अन्तर्राष्ट्रिय मञ्चमा जोडदार रूपमा उठाउनु सकारात्मक छ। तर नेपालमा ग्यास वा मल नपाउने समस्यालाई जलवायुसँग मात्र जोड्दा हाम्रो आफ्नै आन्तरिक व्यवस्थापन र सुशासनको कमजोरी लुक्न सक्दैन; यसले बाह्य सहयोगमा भर पर्ने ‘मगन्ते’ मानसिकता प्रस्तुत गर्ने जोखिम रहन्छ। साथै, महासभाको हलमा गम्भीर भाषण चलिरहँदा दर्शक दीर्घातर्फबाट उच्छृङ्खल तरिकाले हात हल्लाउने ‘झोले’ समर्थकहरूलाई त्यहाँ नलगेको भए हुन्थ्यो, त्यसले भाषणको गाम्भीर्यता घटाएको छ।”

२. गोकुल बाँस्कोटा (नेता, नेकपा एमाले):

“प्रम बालेनले राष्ट्रसंघमा गरेको सम्बोधन दृढ, सार्थक र जोडदार लाग्यो। म रास्वपा त होइन, तर उहाँले देशको भावना बोल्नुभयो—मैले खुसी मनले समर्थन गरेँ।”

३. अंकित ढकाल:

“विषयहरू ठीक छन्। ‘सभ्यताको अन्त्य’को कुरा आएको भए अझै सशक्त हुन्थ्यो। सार्क राष्ट्रहरूको नाम आइसकेपछि ‘सार्क’ शब्द नै भनिएको भए सुनमा सुगन्ध हुन्थ्यो। अडियन्सबाट ताली मात्रै आएको भए हुन्थ्यो, हाहुले विषयको गाम्भीर्यलाई केही फिक्का बनायो।”

४. सुधिर शर्मा (पत्रकार, लेखक):

“उपल्लो विश्व-मञ्चमा गएर नेपालले जे बोल्नु पर्थ्यो, जे-जस्ता मुद्दाहरु शालीन ढंगबाट उठाउनु पर्थ्यो, त्यसमा प्रधानमन्त्री सफल भएका छन् । सम्बोधनको अन्तरवस्तु (कन्टेन्ट) समग्रमा ठीक छ । नेपालको भावना, भोगाई र प्रस्तावहरु सबै सन्तुलित ढंगबाट आएका छन् । समापनमा प्रयोग गरिएको नेपाली बोली पनि राम्रो प्रयोग हो । आलोचना गर्नेले त यो भएन, त्यो भएन अनेक कुरा भन्न सक्लान तर मलाई लागेको चाहिँ- प्रधानमन्त्री कसरी प्रभावकारी ढंगले बोल्ने भनेर सिकिआएका पेशेवर नेता त हैनन्, तापनि अलि अभ्यास गरेर गएको भए हाउभाउ र आत्मविश्वास पनि कन्टेन्ट जत्तिकै प्रभावशाली देखिन्थ्यो होला ।”

५. डा. बाबुराम भट्टराई (पूर्वप्रधानमन्त्री):

“प्रमको UNGA को सम्बोधनको समग्र अन्तरवस्तु र प्रस्तुति सही छ! शैली र आस्था त सबैको फरक हुनु स्वाभाविक छ! बधाई!”

६. सरिता तिवारी (लेखक):

“राष्ट्रसंघमा प्रधानमन्त्रीको लगभग १४ मिनेटको अभिव्यक्ति राम्रोसँग सुनें। यो उत्कृष्ट र हृदय संवेदित गर्ने सुविचारित भाषण नभए पनि जे भन्नुपर्ने हो भनिएको छ। समग्रमा राम्रो छ।”

७. डा. उत्तमबाबु श्रेष्ठ (वातावरण वैज्ञानिक तथा अनुसन्धानकर्ता):

“विषयवस्तु चयन राम्रो लाग्यो- जलवायु अन्याय, हरित ऊर्जा, विद्युतीय गाडीको अवलम्बन र जेन-जी आन्दोलनसम्मका कुरा परे। तर वाचनमा अझै अभ्यास र आत्मविश्वास आवश्यक देखियो। अलि चाँडो पढे, पूर्णविराम र अल्पविरामको ख्याल गरेनन्। साथै, संयुक्त राष्ट्रसंघको महासभामा हुटिङ गर्ने दर्शक-श्रोताको बानीमा सुधार जरूरी छ।”

८. डा. वसन्तराज अधिकारी (निर्देशक, विपद् अध्ययन केन्द्र):

“‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ मार्फत हिमालय क्षेत्रको अनुगमनको महत्त्वपूर्ण विषय उठाउनुभएकोमा प्रधानमन्त्रीज्यूलाई धन्यवाद। नेपालको नेतृत्वमा स्थापना हुने यस्तो संयन्त्रले चीन, भुटान, भारत, पाकिस्तान र बंगलादेशलाई एउटै साझा मञ्चमा जोड्न सक्छ, किनकि हामी सबै एउटै हिमाली प्रणालीको जोखिमसँग जोडिएका छौँ।”

९. रतन भण्डारी (लेखक):

“हजारौँ वर्ष पुरानो सभ्यता बोकेको विश्वकै पुरानो देश नेपाललाई राष्ट्रसंघको महासभाजस्तो अन्तर्राष्ट्रिय मञ्चमा ‘यङ नेसन’ (युवा राष्ट्र) को संज्ञा दिनु र हाम्रो सार्वभौम हिमालयलाई ‘अन्तर्राष्ट्रिय प्रयोगशाला’ बनाउने प्रस्ताव अघि सार्नु अत्यन्त घातक अनि आपत्तिजनक छ। यस्तो भाषण लेख्ने र वाचन गर्ने दुवैबाट मुलुकप्रति गम्भीर घात भएको छ।”

१०.ज्ञानेन्द्र खड्का (पत्रकार):

खासमा काठमाडौंबाट लगिएका र न्यूयोर्कमै रहेका नेपाली कर्मचारी यति साह्रो उत्साहित चाहिँ के कारण भएका हुन् ? राष्ट्रसंघमा हरेक वर्ष प्रधानमन्त्रीले सम्बोधन गर्छन्, कुरा राख्छन् । यो वर्ष पनि त्यसले केबल निरन्तरता पाएको हो, चमत्कार हुने गरि नयाँ केही भएको होइन । मुख्य चाहिँ हाम्रा कुरा ट्रम्प जस्ता जलवायु केही हो भन्ने सन्कीहरूले सुन्छन् कि सुन्दैनन् भन्ने हो ।   तर राष्ट्र संघ जस्तो मञ्चमा पनि हेर्दै अफ्ट्यारो देखिने गरि कन्टेन्ट क्रियटर उतार्नु शोभनीय भएन। जब कि राष्ट्र संघकै फेसबुक र युट्युब पेजमा पूरा भिडियो, फोटो तत्कालै आउँछ

११. तनुजा पाण्डे (जेनजी अभियन्ता):

“प्रधानमन्त्रीज्यूले राष्ट्रसंघमा राष्ट्रिय हित र राष्ट्रिय स्वाभिमानलाई पहिलो प्राथमिकतामा राखेर जसरी जोडदार रूपमा देशको वास्तविक भावना र आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा राख्नुभयो, त्यो अत्यन्तै प्रशंसनीय छ। उहाँको यस कदममा मेरो पूर्ण साथ छ।”

सम्बन्धित खबर

सिफारिस