दूषित पदार्थ भेटिएपछि ‘साई कृपा’ गोल्ड चिया बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन

दियोपोस्ट संवाददाता

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दूषित पदार्थ भेटिएको भन्दै ‘साई कृपा’ ब्रान्डको गोल्ड चियाको एक ब्याच बजारबाट तत्काल फिर्ता (रिकल) गर्न आदेश दिएको छ ।

विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम संकलन गरेको नमूना प्रयोगशालामा परीक्षण गर्दा दूषित पाइएपछि उक्त चिया बजारबाट फिर्ता गर्न आदेश दिएको हो ।

विभागका अनुसार ‘साई कृपा चिया उद्योग प्रालि’, रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ को ब्याच नं. 83.D.05 दूषित पाइएको छ । उक्त चिया १ हजार ग्रामको प्याकमा रहेको र उत्पादन मिति जुलाई २०२६ उल्लेख गरिएको विभागले जनाएको छ । यसको उपभोग्य अवधि १८ महिना तोकिएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २०८३ असोज ८ गते जारी गरेको आदेशमा सम्बन्धित उत्पादकलाई उक्त ब्याच नम्बरका सबै खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिइएको छ ।

साथै, फिर्ता गर्न आदेश दिइएको उक्त ब्याचको चिया बिक्री-वितरण नगर्न तथा नगराउनसमेत विभागले निर्देशन दिएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम महानिर्देशकको निर्णयबाट आदेश जारी गरिएको विभागले जनाएको छ । ऐनको सोही दफाको उपदफा (४) बमोजिम दूषित खाद्य पदार्थको बिक्री-वितरण रोक्न निर्देशन दिइएको हो ।

सम्बन्धित खबर

सिफारिस