काठमाडौंको वर्षाको कहर : फोहोरमैला विसर्जन प्रभावित, नदी किनारमा यात्रा गर्न रोक

दियोपोस्ट संवाददाता

काठमाडौं- निरन्तरको वर्षाका कारण काठमाडौं उपत्यकाभित्रका नदीहरूमा जलसतह तीव्र रूपमा बढेपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नदी करिडोर भएर यात्रा नगर्न सर्वसाधारणमा आह्वान गरेको छ। ललितपुरको च्यासलस्थित पुलमा बाढीले छोएपछि सो क्षेत्रबाट हुने आउजाउलाई प्रहरीले पूर्ण रूपमा रोक लगाएको छ। उपत्यकाका तटीय क्षेत्रहरूमा जोखिम बढेसँगै ट्राफिक प्रहरीले माइकिङ गर्दै करिडोर सडकमा यात्रा नगर्न र नदी किनारमा पार्क गरिएका सवारी साधनहरू तत्काल हटाउन आग्रह गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता नरेशराज सुवेदीका अनुसार जलसतह बढेपछि तटीय क्षेत्रहरूमा प्रहरीले निगरानी बढाएको छ। जोखिमयुक्त मानिएका च्यासल पुललगायतका स्थानहरूमा सम्भावित दुर्घटना रोक्न थप प्रहरी टोली परिचालन गरिएको छ।

यसैबीच, निरन्तरको वर्षाका कारण काठमाडौं उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको ल्याण्डफिल साइटमा लेदोसहितको पहिरो खस्दा फोहोर संकलन तथा ढुवानी कार्य प्रभावित भएको छ। काठमाडौं महानगरपालिकाका अनुसार ल्याण्डफिल साइटमा माथिबाट निरन्तर माटो र लेदो खसिरहेकाले फोहोर ढुवानी र विसर्जनमा कठिनाइ उत्पन्न भएको हो।

फोहोर व्यवस्थापन सामान्य हुन केही समय लाग्ने भएकाले काठमाडौं महानगरपालिकाले घरधनी, व्यवसायी तथा सर्वसाधारणलाई घर र पसलबाट निस्कने फोहोर सडक, चोक, सार्वजनिक स्थल तथा खोला–नालामा नफाल्न आग्रह गरेको छ। फोहोर संकलन नियमित नहुन्जेल सम्भव भएसम्म कुहिने र नकुहिने फोहोर छुट्याएर आफ्नै घर वा परिसरभित्र सुरक्षित राख्न महानगरले अनुरोध गरेको छ।

सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्दा सडक अवरुद्ध हुनुका साथै वर्षाको पानी निकासमा समेत बाधा पुग्ने र डुबानको जोखिम बढ्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। वर्षा थामिएर ल्याण्डफिल साइटको अवस्था सामान्य हुनासाथ फोहोर संकलन तथा ढुवानी सेवा नियमित गरिने महानगरले जनाएको छ।

मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालभर वर्षा भइरहेको छ। यो प्रणाली पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्दै गइरहेकाले पूर्वको तुलनामा बागमतीदेखि पश्चिमतर्फका जिल्लाहरूमा बढी वर्षा हुने सम्भावना रहेको मौसमविद रोजन लामिछानेले जानकारी दिएका छन्।

सम्बन्धित खबर

सिफारिस