जटिल प्रसूति समस्या देखिएपछि रुकुमकी महिलाको हवाई उद्धार

दियोपोस्ट संवाददाता

काठमाडौँ । जटिल प्रसूति समस्या देखिएकी रुकुम पश्चिमकी ३३ वर्षीया महिलाको हवाई उद्धार गरी थप उपचारका लागि सुर्खेत लगिएको छ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित हवाई उद्धार कार्यक्रममार्फत मुसिकोट नगरपालिका–१ की ती महिलाको उद्धार गरिएको हो ।

मन्त्रालयका अनुसार आश्विन ८ गते जटिल प्रसूति समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएकाले उनलाई तत्काल हवाई माध्यमबाट सुर्खेत पुर्‍याइएको हो ।

दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा विशेषज्ञ प्रसूति सेवा सहज रूपमा उपलब्ध नहुँदा जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै सुरक्षित स्वास्थ्य संस्थामा पुर्‍याउने उद्देश्यले हवाई उद्धार कार्यक्रम सञ्चालन हुँदै आएको मन्त्रालयले जनाएको छ ।

कार्यक्रमअन्तर्गत स्वास्थ्य अवस्था र उपचारको आवश्यकताका आधारमा जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई माध्यमबाट उद्धार गरी सुविधासम्पन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुर्‍याउने गरिएको छ ।

सम्बन्धित खबर

सिफारिस