हनुमन्तेमा पानीको सतह बढ्यो, १६ परिवारलाई सुरक्षित स्थानमा सारियो

दियोपोस्ट संवाददाता

काठमाडौँ । हनुमन्ते खोलाको बहाव बढेपछि भक्तपुरको मध्यपुर थिमी क्षेत्रका १६ परिवारका ९५ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

भक्तपुर प्रहरीका अनुसार अविरल वर्षाका कारण हनुमन्ते खोलाको पानीको सतह बढेपछि जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सारिएको हो।

बिहीबारदेखि लगातार परेको वर्षाका कारण काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको छ। विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै नदी तथा खोलाको बहाव बढेको छ।

वर्षाका कारण हुनसक्ने सम्भावित धनजनको क्षतिलाई मध्यनजर गर्दै प्रहरीले देशभर उच्च सतर्कता अपनाएको जनाएको छ। नदी तथा खोलानजिकका बस्तीमा जोखिम बढेपछि प्रहरीले नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा सचेत गराउन माइकिङ गर्ने काम गरिरहेको छ।