
काठमाडौँ । अभिभावकले विश्वास गरेर छोराछोरी जिम्मा लगाएको धार्मिक आवासीय विद्यालयमै बालबालिका वर्षौँसम्म यौन तथा शारीरिक दुर्व्यवहारको सिकार हुन्छन् भने बालबालिका कहाँ सुरक्षित हुन सक्छन? यो प्रश्न मात्रै होइन काठमाडौँकै एक गुरुकुलमा भएको वास्तविक घटना हो ।
काठमाडौँको बुढानीलकण्ठस्थित इस्कोनको भक्ति वेदान्त गुरुकुलमा अध्ययन गर्दै आएकी १३ वर्षिया बालबालिका वर्षौँदेखि यौन तथा शारीरिक दुर्व्यवहारको सिकार हुनु परेको घटना बाहिरिएको छ ।
गुरुकुलमा अध्ययनरत बालबालिकामाथि यौन दुर्व्यवहार, शारीरिक यातना र बाल संरक्षणमा गम्भीर लापरवाही भएको आरोपपछि प्रहरीमा उजुरी समेत परेको छ । घटनासँग जोडिएका केही व्यक्ति कानुनी प्रक्रियामा छन् भने एक आरोपी अझै फरार रहेको परिवारको दाबी छ ।
घटना बाहिरिएपछि इस्कोनको अन्तर्राष्ट्रिय समितिले नेपाल शाखाका आठ पदाधिकारीलाई निलम्बन गरेको छ । तर इस्कोन नेपालले भने उक्त निलम्बनको वैधानिकतामाथि नै प्रश्न उठाएको छ ।
१३ वर्षीया बालिकाको गम्भीर आरोप:
पीडित परिवारका अनुसार गुरुकुलमा अध्ययनरत दुई बालबालिकाले फरक-फरक प्रकृतिको दुर्व्यवहार भोगेका थिए । परिवारका अनुसार १३ वर्षीया बालिकाले २०७८ भदौदेखि २०७९ असोजसम्म गुरुकुलमा रहँदा यौन दुर्व्यवहार भोगेकी थिइन् ।
त्यो समयमा आफूलाई के भइरहेको थियो भन्ने कुरा स्पष्ट रूपमा बुझ्न नसकेको उनले धेरै समयपछि मात्रै परिवारलाई बताएकी थिइन् । २०८२ जेठको मध्यतिर उनले पहिलोपटक अर्कै विद्यालयकी एक महिला शिक्षिकालाई आफूले भोगेको घटनाबारे जानकारी गराएकी थिइन् । त्यसपछि मात्रै परिवारले घटनाबारे थाहा पाएको बताइएको छ ।
बालिकाको व्यवहारमा समेत परिवर्तन आएको परिवारको भनाइ छ । उनका बुबाका अनुसार उनी लामो समय टोलाउने, राम्ररी निदाउन नसक्ने, पटकपटक रुने तथा चिच्याउने गर्न थालेकी थिइन् ।
उही परिवारका पाँच वर्षीय छोरा पनि गुरुकुलमा अध्ययनरत थिए । परिवारका अनुसार तत्कालीन प्रिन्सिपल सुरजकृष्ण श्रेष्ठले बालकमाथि कुटपिट गर्ने र धारिलो पिँले घोच्नेसम्मको यातना दिने गरेका थिए ।
बालकले आफूलाई कुटपिट गर्ने र पिनले घोच्ने गरिएको बताएको परिवारको भनाइ छ ।
त्यति मात्रै होइन, आफूलाई कुटपिट गरिएको कुरा अभिभावकलाई बताए अझ कडा सजाय दिने भन्दै धम्की दिइएको बालकले बताएको परिवारको दाबी छ । यही आरोपका आधारमा परिवारले प्रहरीमा उजुरी दिएको थियो ।
पहिले इस्कोनकै बाल संरक्षण निकायमा उजुरीः
प्रहरीमा पुग्नुअघि परिवारले इस्कोनकै बाल संरक्षण संयन्त्रमा उजुरी गरेको बताएको छ । पीडित बालबालिकाका बुबाका अनुसार उनले २०८२ साउन २० गते भारतस्थित इस्कोनको बाल संरक्षण कार्यालयमा उजुरी दिएका थिए ।
उजुरीमा गुरुकुलमा बालबालिकामाथि गम्भीर दुर्व्यवहार भएको, बाल संरक्षणमा समस्या रहेको र व्यवस्थापन पक्षबाट लापरवाही भएको आरोप लगाइएको थियो । त्यसपछि इस्कोनको बाल संरक्षणसम्बन्धी निकायले घटनाको स्वतन्त्र छानबिन अघि बढाएको बताइएको छ ।
तर परिवारका अनुसार लामो समयसम्म ठोस कारबाही नभएपछि उनीहरू प्रहरीसमक्ष पुगेका थिए ।
प्रहरीमा उजुरीपछि पक्राउ, आरोपी धरौटीमा रिहाः
परिवारले जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दिएपछि प्रहरीले तत्कालीन प्रिन्सिपल सुरजकृष्ण श्रेष्ठलाई पक्राउ गरेको थियो ।
उनीमाथि बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको आरोप लगाइएको छ । पक्राउ परेका श्रेष्ठ धरौटीमा रिहा भइसकेका छन् । यता बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका गुरुकुलकै सिनियर विद्यार्थी ईश्वर श्रेष्ठ भने अझै फरार रहेको बताइएको छ ।
परिवारका अनुसार प्रहरीले उनको खोजीका लागि इन्टरपोल र भारतको केन्द्रीय अनुसन्धान ब्युरोलाई समेत पत्राचार गरेको छ । आरोपितको नागरिकता नबनेका कारण खोजीमा समस्या भइरहेको प्रहरी स्रोतबाट जानकारी पाएको परिवारले जनाएको छ ।
इस्कोनकै छानबिनमा पनि उठ्यो प्रश्नः
घटना बाहिरिएपछि कानुनी निकाय मात्रै होइन, इस्कोनको आफ्नै बाल संरक्षण संयन्त्रले समेत गुरुकुलको व्यवस्थापनमाथि प्रश्न उठाएको देखिन्छ । इस्कोनको बाल संरक्षण निगरानी समितिले छानबिन पूरा गरेको बताइएको छ । असोज १ गते जारी गरिएको पत्रमा गुरुकुलको नेतृत्व र व्यवस्थापनमा बाल संरक्षणसम्बन्धी समस्या देखिएको उल्लेख गरिएको परिवारको भनाइ छ ।
आठ पदाधिकारी निलम्बनः
घटना सार्वजनिक भएपछि इस्कोनको अन्तर्राष्ट्रिय समितिले नेपाल शाखाका आठ अधिकारीलाई निलम्बन गरेको छ । २९ भदौमा गरिएको निलम्बनमा तत्कालीन प्रिन्सिपल सुरजकृष्ण श्रेष्ठसमेत परेका छन् ।
भारतस्थित इस्कोनको बाल संरक्षण कार्यालयले जारी गरेको भनिएको पत्रमा आन्तरिक छानबिनपछि निलम्बनको निर्णय गरिएको उल्लेख छ । निलम्बित सबैलाई थप छानबिन पूरा नभएसम्म व्यवस्थापकीय, प्रशासनिक तथा नेतृत्वदायी जिम्मेवारीबाट अलग गरिएको बताइएको छ ।
यता, इस्कोनको अन्तर्राष्ट्रिय समितिले गरेको निलम्बनलाई इस्कोन नेपालले भने अवैध र अमान्य भनेको छ । इस्कोन नेपालको साधारण सभाले जारी गरेको विज्ञप्तिअनुसार निलम्बनसम्बन्धी सूचना जारी गर्ने इस्कोनका दक्षिण एसियाली क्षेत्रीय सचिव रेवतीरमण दास भारतीय नागरिक हुन् ।
इस्कोन नेपालको दाबीमा उनी नेपालस्थित इस्कोन समितिमा सल्लाहकारको भूमिकामा मात्रै छन् । नेपालमा दर्ता भएको संस्थाका पदाधिकारीलाई निलम्बन गर्ने अधिकार उनलाई नरहेको इस्कोन नेपालको भनाइ छ ।
त्यसैले निलम्बनको निर्णयलाई नै उसले कानुनी तथा संस्थागत अधिकार क्षेत्रबाहिरको कदमका रूपमा व्याख्या गरेको छ । इस्कोन नेपालले रेवतीरमण दासलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन र माफी माग्नसमेत समय दिएको थियो । उक्त समयसीमा सकिएको बताइएको छ ।