
काठमाडौँ । सप्तकोशीको बहाव बढ्दै जाँदा कोशी ब्यारेजमा दबाब बढेको छ । ब्यारेजमा अहिले २ लाख ४० हजार क्युसेक बाढी मापन भएको छ । पानीको बहाव बढेपछि ब्यारेजका ५६ मध्ये ३१ वटा ढोका खोलिएका छन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले ब्यारेज क्षेत्रलाई ‘रेड अलर्ट’मा राखेको जनाएको छ । तर प्रशासनले सर्वसाधारणलाई आत्तिनुपर्ने अवस्था नरहेको बताएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरीप्रसाद अर्यालका अनुसार विगतका वर्षमा कोशीमा ५ लाख क्युसेकभन्दा बढी पानीको बहाव मापन भइसकेको छ ।
‘कोशी ब्यारेजमा अहिले रेड अलर्टको अवस्था छ । यद्यपि अघिल्ला वर्षहरूमा ५ लाख क्युसेकसम्म बाढी मापन भएको थियो,’ अर्यालले भने, ‘आत्तिनुपर्ने अवस्था चाहिँ छैन । तर, हामी अलर्टमा छौ ।’
बाढी बढे पनि कोशी पुलमा सवारी आवागमन भने रोकिएको छैन । हाललाई पुल भएर चल्ने सवारी साधनमा कुनै रोक लगाउने अवस्था नरहेको प्रशासनको भनाइ छ ।
तर बहाव अझै बढेमा अवस्था हेरेर सवारी आवागमनमा समेत निर्णय लिन सकिने अर्यालले बताए । ‘अहिले नै सवारी साधन रोक्नुपर्ने अवस्था छैन । बाढीको मापन बढ्यो भने आवश्यकताअनुसार निर्णय हुन्छ,’ उनले भने ।
यता मौसम विज्ञान विभागले भने सप्तकोशीमा बाढी बढ्दो क्रममा रहेको भन्दै तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी डुबान भइरहने तथा नदीको तल्लो तटीय क्षेत्रमा रहेका बस्तीलाई पर्सिसम्म उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।