
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नदीमा हाम फालेका एक व्यक्ति बेपत्ता भएका छन् । करिब ५० वर्षीय स्थानीय व्यक्तिले दिउँसो ४ बजेतिर नदीमा हाम फालेपछि बेपत्ता भएको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहानैदेखि परेको अविरल वर्षाका कारण बाणगंगा नदीमा पानीको बहाव बढिरहेका बेला ती व्यक्ति नदीमा हाम फालेका हुन् ।
नदीमा हाम फालेपछि उनी करिब पाँच सय मिटर तलसम्म पौडी खेल्दै गरेको स्थानीयले देखेका थिए । त्यसपछि नदीको तीव्र बहावले उनलाई बगाएको र हालसम्म अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय पिपराको टोली घटनास्थल पुगेको छ । उद्धार तथा खोजीका लागि सशस्त्र प्रहरी बेस क्याम्प पिपराको टोलीसमेत परिचालन गरिएको छ ।
घटनास्थलमा ठूलो संख्यामा स्थानीयको समेत भीड लागेको छ । प्रहरी र स्थानीयले नदीको आसपासका क्षेत्रमा खोजी गरिरहेका छन् । उनको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
अविरल वर्षासँगै बाणगंगा नदीको बहाव निरन्तर बढिरहेको स्थानीयले बताएका छन् । तीव्र बहावका कारण खोजी तथा उद्धार कार्यमा समेत कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।