
मुस्ताङ । देशका अधिकांश भूभागमा अविरल वर्षाले जनजीवन प्रभावित भइरहेका बेला हिमाली जिल्ला मुस्ताङको उत्तरी सीमावर्ती क्षेत्र कोरला नाकामा असोजमै हिमपात भएको छ । समुद्री सतहदेखि करिब ४ हजार ६ सय मिटरभन्दा बढी उचाइमा रहेको कोरला नाका तथा आसपासको क्षेत्रमा शुक्रबार हल्का वर्षासँगै हिमपात भएको हो ।
हिमपातसँगै उच्च हिमाली क्षेत्रमा चिसो बढेको छ भने सीमावर्ती क्षेत्रको आवतजावत र व्यापारिक गतिविधिसमेत प्रभावित हुने जोखिम बढेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सन्तोष बस्यालका अनुसार कोरला क्षेत्रमा हल्का वर्षासँगै हिमपात भइरहेको छ । लोमान्थाङदेखि कोरला नाकासम्मका उच्च भूभागमा हिमपात भइरहेको र जिल्लाका अन्य क्षेत्रमा भने वर्षा भइरहेको उनले बताएका छन् ।
हालसम्म हिमपातका कारण कुनै अप्रिय घटना वा दुर्घटना भएको सूचना नआएको प्रहरीले जनाएको छ । तर मौसम थप प्रतिकूल बने सडकमा सवारी सञ्चालन तथा उच्च क्षेत्रमा आवतजावत जोखिमपूर्ण हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ ।
राति बेनी-जोमसोम-कोरला सडक बन्द
मौसममा आएको खराबीलाई मध्यनजर गर्दै बेनी-जोमसोम–कोरला सडकमा रातिको यातायातसमेत रोकिएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले म्याग्दी र मुस्ताङको सीमास्थल काभ्रेभिरदेखि कोरला नाकासम्म साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म यातायात सञ्चालनमा रोक लगाएको छ । वर्षा र हिमपातका कारण बाढी, पहिरो तथा नदी कटानको जोखिम बढ्न सक्ने भएकाले सम्भावित दुर्घटना न्यूनीकरणका लागि यस्तो व्यवस्था गरिएको हो ।
मौसम पूर्वानुमानअनुसार वर्षा र हिमपातको सम्भावना रहेकाले अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ । उच्च लेकमा रहेका पदमार्ग तथा हिमाली क्षेत्रमा समेत मौसम प्रतिकूल रहेकाले पर्यटक र यात्रुलाई पूर्वसूचना लिएर मात्र यात्रा गर्न भनिएको छ ।
व्यापारिक दबाबबीच हिमपात
यसपटक कोरला नाकामा परेको हिमपातलाई सामान्य मौसमी घटनामात्र नभई व्यापारिक दृष्टिले पनि महत्वपूर्ण मानिएको छ ।
रसुवागढी-केरुङ नाका बाढीले क्षतिग्रस्त भएपछि र तातोपानी नाका पनि प्रभावित भएपछि चीनबाट नेपाल भित्रिने ठूलो परिमाणको मालसामान कोरला नाकातर्फ मोडिएको छ । पछिल्ला साताहरूमा कोरला नाका नेपाल-चीन व्यापारको प्रमुख वैकल्पिक मार्ग बनेको छ ।
भदौ अन्तिम साताको बाढीपछि कोरला नाकामा मालवाहक कन्टेनरको चाप अस्वाभाविक रूपमा बढेको थियो । सामान्य अवस्थामा दैनिक पाँच-छ वटा कन्टेनर व्यवस्थापन गर्दै आएको मुस्ताङ भन्सारले अहिले निकै बढी व्यापारिक चाप सामना गरिरहेको छ ।
यही अवस्थामा उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएपछि मालवाहक सवारीको आवतजावत थप चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ । सडक चिप्लिने, दृश्यता घट्ने तथा अत्यधिक चिसोका कारण सवारी सञ्चालनमा समस्या आउन सक्ने जोखिम रहेको स्थानीय क्षेत्रका विवरणमा उल्लेख छ ।
नेपाल मौसम विज्ञान विभागले पनि शुक्रबार देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना र विपद्का जोखिमसम्बन्धी सूचना जारी गरेको छ । विभागले बाढी तथा अन्य मौसमी जोखिमबारे निरन्तर निगरानी गरिरहेको छ ।
उच्च हिमाली क्षेत्रमा हिमपात र तल्लो भूभागमा वर्षा जारी रहेकाले कोरला नाका हुँदै यात्रा गर्ने यात्रु, व्यापारी तथा मालवाहक चालकलाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ ।