
काठमाडौँ । गत भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएकी इन्जिनियर ऋचा निरौलाको लोकसेवा आयोगको परीक्षामा सफल भएको नतिजा सार्वजनिक भएको छ।
२८ दिनदेखि बेपत्ता निरौला २१६ मेगावाट क्षमताको अपर त्रिशूली-१ जलविद्युत् आयोजनाको प्लानिङ सेक्सनमा कार्यरत थिइन्। उनी उक्त आयोजनामा विगत ६ महिनादेखि कार्यरत रहेको बताइएको छ।
मोरङको पथरी शनिश्चरे-७ स्थायी घर भई हाल विराटनगर-३ मा बस्दै आएकी निरौलाले लोकसेवा आयोगको परीक्षामा क्रम संख्या १२ मा नाम निकाल्न सफल भएकी हुन्।
उनको लोकसेवा आयोगको नतिजा असोज ८ गते बिहीबार सार्वजनिक भएको हो। लोकसेवामा सफल भएको खबर सार्वजनिक भए पनि निरौला भने भदौ १० गते भोटेकोसीमा आएको बाढीपछि अझै बेपत्ता छिन् ।