आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको जोखिम

दियोपोस्ट संवाददाता

काठमाडौँ । हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको उत्तर छत्तीसगढ तथा उत्तर-पूर्वी मध्य प्रदेशमा रहेको न्यून चापीय प्रणाली उत्तर-उत्तरपश्चिमतर्फ सर्दै भारतको दक्षिण-पूर्वी उत्तर प्रदेशतर्फ जाने र आगामी १२ घण्टामा क्रमशः कमजोर हुँदै न्यून चापीय क्षेत्रमा परिणत हुने सम्भावना रहेको छ ।

आज देशभर अधिकांश भू-भागमा बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका अधिकांश स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका अधिकांश स्थानमा तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ भने कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ। मधेश प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।

आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली तथा कोशी र मधेश प्रदेशमा सामान्यतया बदली रहनेछ।

रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका अधिकांश स्थानमा तथा बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका धेरै र कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका अधिकांश स्थानमा तथा मधेश र कोशी प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ।