
काठमाडौँ । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४३ वटा ढोका खोलिएका छन् । बिहीबारदेखि परेको अविरल वर्षाका कारण सप्तकोशीमा पानीको बहाव निरन्तर बढ्दै गएपछि ब्यारेजमा दबाब बढेको हो ।
मापनअनुसार शनिबार कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ । पानीको बहाव तीव्र गतिमा बढिरहेकाले सतर्कता अपनाइएको ब्यारेज प्रशासनले जनाएको छ ।
जलस्तरले सुरक्षित सीमा पार गरेपछि ब्यारेजको अवस्थालाई ‘अति खतरा’को सूचीमा राखिएको छ । जोखिमको संकेतस्वरूप ब्यारेजमा रातो बत्ती बाल्नुका साथै रातो झन्डासमेत फहराइएको प्रशासनले जनाएको छ ।
शुक्रबार बिहान करिब १ लाख ९० हजार क्युसेक रहेको पानीको बहाव साँझसम्म बढेर २ लाख ७८ हजार २७५ क्युसेक पुगेको थियो । त्यसपछि पनि पानीको बहाव बढ्ने क्रम जारी रहेको हो ।
यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीले कोशी ब्यारेज क्षेत्रलाई ‘रेड अलर्ट’मा राखेको थियो ।
यता जल तथा मौसम विज्ञान विभागले सप्तकोशीमा बाढी बढ्दो क्रममा रहेको भन्दै तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी डुबान भइरहने तथा नदीको तल्लो तटीय क्षेत्रमा रहेका बस्तीलाई उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।