आगामी ५ दिन नदीहरूमा बहाव बढ्ने : तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

दियोपोस्ट संवाददाता

काठमाडौँ । बिहीबारदेखि देशका अधिकांश भागमा भइरहेको निरन्तर वर्षाका कारण देशभरका अधिकांश साना-ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शनिबार बिहान ८ बजेको मापनअनुसार कोशी, नारायणी र तिनका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बागमती, पश्चिम राप्ती, बबई र तिनका सहायक नदीमा पनि बहाव सतर्कता तह नजिक पुगेकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

आगामी पाँच दिनको पूर्वानुमानअनुसार कोशी र यसका सहायक नदीहरू सप्तकोशी (चतरा), तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशीलगायतमा (आज) असोज १० गते जलसतह उल्लेख्य बढ्ने सम्भावना छ। असोज ११ र १२ गतेसम्म सामान्य रूपमा बढ्ने तथा असोज १३ र १४ गते बहावमा घटबढ हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, नारायणी र यसका सहायक नदीहरू नारायणी (देवघाट), त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती, मादी र कालीगण्डकीमा आज र भोलि असोज ११ गते जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ। असोज १२ गतेदेखि बहाव सामान्य हुने र १३ गतेदेखि घटबढ हुने सम्भावना छ।

कर्णाली (चिसापानी), ठूलीभेरी, भेरी, पश्चिम सेती, महाकाली, तिनाउ र बबई नदीमा आज, भोलि र पर्सि असोज १२ गतेसम्म लगातार तीन दिन जलसतह उल्लेख्य बढ्ने देखिएको छ।

कन्काई, कमला, बागमती, पूर्वी र पश्चिम राप्तीलगायत नदीमा पनि आज जलसतह उल्लेख्य बढ्ने तथा असोज ११ गतेदेखि सामान्य रूपमा बढ्दै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ।

मुख्य नदी तथा तिनका सहायक नदीको तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई बाढी र कटानको जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। नदी तटीय क्षेत्रमा यात्रा गर्दा समेत विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।