काठमाडौँमा वर्षा रोकिए पनि फेरि भारी वर्षाको सम्भावना

दियोपोस्ट संवाददाता

काठमाडौँ । बिहीबारदेखि निरन्तर भइरहेको वर्षा केही समयका लागि रोकिए पनि काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा फेरि वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा.विनोद पोखरेलका अनुसार काठमाडौँमा अहिले वर्षा रोकिए पनि यो वर्षाले केही समयका लागि ‘आराम’ गरेको अवस्था मात्र हो । उनका अनुसार दिउँसोदेखि रातभर वर्षा हुने सम्भावना छ।

काठमाडौँ उपत्यकामा अपराह्नदेखि भोलि बिहानसम्म मेघगर्जनसहित केही समय भारी वर्षा हुन सक्ने उनले बताएका छन् । गण्डकीदेखि सुदूरपश्चिमसम्मका क्षेत्रमा भने अझै ठूलो वर्षा हुन बाँकी रहेको उनको भनाइ छ।

डा. पोखरेलका अनुसार भारी वर्षाको अवधि अब करिब २४ घण्टा बाँकी देखिएको छ। मुख्य जोखिम सुदूरपश्चिमदेखि गण्डकीसम्म तथा बागमतीका केही दक्षिणी जिल्लामा रहेको उनले बताए। आइतबार साँझ-रातिदेखि देशभरको मौसम क्रमशः खुल्दै जाने सम्भावना रहेको उनले बताएका छन्।

पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा सबैभन्दा धेरै २४० मिलिमिटर वर्षा मापन भएको छ । गण्डकीदेखि पश्चिम नेपालका धेरै स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। अहिले पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। भारतको उत्तर छत्तीसगढ तथा उत्तर-पूर्वी मध्य प्रदेशमा रहेको न्यून चापीय प्रणाली उत्तर-उत्तरपश्चिमतर्फ सर्दै भारतको दक्षिण-पूर्वी उत्तर प्रदेशतर्फ जाने र आगामी १२ घण्टामा क्रमशः कमजोर हुँदै न्यून चापीय क्षेत्रमा परिणत हुने सम्भावना रहेको विभागले जनाएको छ।

भोलि देशका धेरै स्थानमा केही समय घाम देखिन सक्ने भए पनि वर्षाको सम्भावना भने कायमै रहने मौसमविद्हरूले बताएका छन्।