पहिरोसँगै खसेको ढुंगा लागेर भाइको मृत्यु, दाजु घाइते

दियोपोस्ट संवाददाता

डोल्पा । अविरल वर्षाका कारण गोठमाथिबाट खसेको पहिरोसहितको ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ भने  एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका-१ खलवलगाडाका ३३ वर्षीय मनरूप केसी रहेका छन् । पहिरोसँगै खसेको ढुंगाले लागेर उनका दाजु ३८ वर्षीय रूपचन्द्र केसी घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार शुक्रबार राति गोठमा सुतिरहेका बेला माथिबाट पहिरोसहित खसेको ढुंगाले मनरूपको टाउको र छातीमा लागेको थियो । ढुंगा लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा घाइते भएका उनका दाजु रूपचन्द्रको ढाडमा ढुंगा लागेको छ। उनको अवस्था सामान्य रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।