गण्डक ब्यारेजमा बढ्यो पानीको बहाव, ३ लाख क्युसेक नजिक

दियोपोस्ट संवाददाता

काठमाडौँ । लगातारको वर्षाका कारण नेपाल-भारत सीमा क्षेत्रमा रहेको गण्डक ब्यारेजमा पानीको बहाव बढेको छ । शनिबार बिहान ९ बजेको मापनअनुसार गण्डक ब्यारेजबाट २ लाख ७३ हजार ६ सय क्युसेक पानी प्रवाह भइरहेको छ।

गण्डक ब्यारेज, वाल्मीकिनगरका अनुसार ब्यारेजको माथिल्लो तटीय क्षेत्रमा पानीको सतह ३५९.४० फिट र तल्लो तटीय क्षेत्रमा ३५६.८० फिट मापन भएको छ।

ब्यारेजको संरचना पुरानो भएकाले ३ लाख क्युसेक पानीको बहावलाई जोखिमको सूचक मानिँदै आएको छ। हालको बहाव उक्त सीमाभन्दा २६ हजार ४ सय क्युसेक कम रहेको छ।

यसैबीच, नेपालतर्फ देवघाटमा शनिबार बिहान  ३ लाख ४८ हजार क्युसेक पानीको बहाव मापन गरिएको छ । देवघाटमा नदीको बहाव बढ्दो क्रममा रहेकाले त्यसको प्रभाव गण्डक ब्यारेजमा समेत पर्न सक्ने बताइएको छ।

देवघाटको बहाव गण्डक ब्यारेजतर्फ बढ्दै गएमा ब्यारेज तथा नारायणी नदीको तल्लो तटीय क्षेत्रमा पानीको सतह र बहाव थप बढ्न सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

यसअघि २०८० साल साउन २९ गते पनि गण्डक ब्यारेजमा २ लाख ७३ हजार ६ सय क्युसेक पानीको बहाव हुँदा ब्यारेजका ३६ वटै ढोका खोलिएका थिए।