
काठमाडौँ । नारायणी नदीको बाढीले बस्ती डुबानमा परेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ स्थित थारुटोलबाट सशस्त्र प्रहरीले २९ जनाको सकुशल उद्धार गरेको छ । आज बिहान पौने ९ बजे सशस्त्र प्रहरी बल र नेपाल बीओपी सुस्ताबाट खटिएको टोलीले उद्धार गरेको हो ।
टोलीले बाढी प्रभावित क्षेत्रबाट २९ जना स्थानीयको उद्धार गर्नुका साथै एक गाई र १३ वटा बाख्रालाई समेत सुरक्षित स्थानमा सारेको जनाएको छ ।
उद्धार गरिएका स्थानीय तथा चौपायालाई सुस्ता गाउँपालिका-५ स्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
केही दिनदेखि परेको अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढेपछि थारुटोलमा पानी पसेको थियो । बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीले उद्धार तथा राहत कार्यलाई निरन्तरता दिएको जनाएको छ।