कृष्णभीरको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

दियोपोस्ट संवाददाता

काठमाडौँ । नागढुंगा-मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा खसेको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ। आज बिहानदेखि  धादिङको कृष्णभिरमा खसेको पहिरो  निरन्तर हटाउने काम गरिएपछि दिउँसो साढे १२ बजेदेखि सवारी साधन आवतजावत गर्न सक्ने अवस्था बनेको हो।

बेनिघाट रोराङ गाउँपालिका-७ का वडाध्यक्ष कुमार बस्नेतका अनुसार कृष्णभीरको पहिरो सफा गरेसँगै सडक एकतर्फी खुलाइएको छ ।

यद्यपि सोही सडकखण्डका अन्य ७ स्थानमा भने अझै पनि पहिरो पन्छाउने कार्य तीव्र रूपमा भइरहेको छ । पानीधारा, धारापानी, जवाँ, जलविरे, रोराङ लगायतका स्थानमा खसेको पहिरो हटाउनका लागि हेभी मेसिनहरू परिचालन गरिएको आयोजनाले जनाएको छ।

अझै पनि सो क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले पहिरो हटाउन केही कठिनाइ भइरहेको छ। सबै स्थानको पहिरो पूर्ण रूपमा सफा भएपछि मात्रै सडकमा दुवैतर्फ निर्बाध रूपमा सवारी आवागमन सुचारु हुने बताइएको छ। वर्षा र पहिरोको जोखिम कायमै रहेकाले सो मार्ग भई यात्रा गर्दा विशेष सावधानी अपनाउन आयोजनाले आग्रह गरेको छ।