
काठमाडौँ । भन्सार विभागले कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं.३४ गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसीसँग भारतीय गाडी नियन्त्रणमा लिएको विषयमा उत्पन्न विवादबारे थप बुझ्नुपर्ने भन्दै विभागले भट्टलाई जिम्मेवारीबाट हटाएको हो।
विभागले भट्टलाई त्रिपुरेश्वरस्थित भन्सार विभागमा हाजिर हुन पत्राचार गरेको जनाएको छ।
भन्सार पास भएर आएको भारतीय गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको विषयमा भट्ट र एसपी केसीबीच विवाद भएको विवरण चार दिनअघि सार्वजनिक भएको थियो । भट्टले उक्त गाडी तत्काल छाड्न वा भन्सार कार्यालयमा पठाउन निर्देशन दिएको तथा गाडी नछाडिए गृहमन्त्री, प्रहरी महानिरीक्षक (आईजीपी) र भन्सार विभागका प्रमुखलाई फोन गर्ने बताएका थिए।
भट्टले सशस्त्र प्रहरीले व्यवसायीलाई अनावश्यक दुःख दिएको आरोपसमेत लगाएका थिए । यता, एसपी केसीले भारतीय गाडी भएकाले नियन्त्रणमा लिएको बताएका थिए।
सोही विषयमा सार्वजनिक भएका विवरणमाथि थप अनुसन्धान गर्न आवश्यक रहेकाले भट्टलाई विभागमा झिकाइएको विभागले जनाएको छ।