
काठमाडौँ । हाल देशका चारवटा प्रदेशका तराई भू-भागमा तीव्र गतिमा हावाहुरी चलिरहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा ठूलो हावा चलिरहेको हो।
भारतको उत्तर प्रदेश आसपास विकसित भएको न्यूनचापीय प्रणालीका साथै देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा तीव्र गतिमा हावाहुरी चलेको विभागले जनाएको छ।
मौसमविद्का अनुसार हाल भारतको उत्तर छत्तीसगढ तथा उत्तर-पूर्वी मध्य प्रदेशमा रहेको न्यूनचापीय प्रणाली उत्तर-उत्तरपश्चिमतर्फ सर्दै दक्षिण-पूर्वी उत्तर प्रदेशतर्फ जाने क्रममा छ। यो प्रणाली आगामी १२ घण्टामा क्रमशः कमजोर हुँदै न्यूनचापीय क्षेत्रमा परिणत हुने सम्भावना रहेको छ।
यस प्रणालीको प्रभावले शनिबार रातिसम्म मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तीव्र गतिमा हावा चल्नेछ। हावाहुरीको यो प्रभाव आइतबार दिउँसोसम्म कायम रहने अनुमान गरिएको छ। विशेष गरी आइतबार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा आसपासका क्षेत्रमा तीव्र गतिको हावा चल्ने सम्भावना छ।
भू-उपग्रहबाट प्राप्त तल्लो वायुमण्डलको हावाको अवस्थासम्बन्धी तस्बिरले पनि तराईका विभिन्न भूभागमा हावाको गति तीव्र रहेको पुष्टि गरेको छ। हावाहुरीका कारण हुन सक्ने सम्भावित जोखिम तथा क्षतिबाट बच्न जल तथा मौसम विज्ञान विभागले सर्वसाधारण तथा सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।