तिनाउको बाढीले बुटवलमा ६ घर बगायो, २०० परिवार जोखिममा

दियोपोस्ट संवाददाता

बुटवल । लगातारको वर्षापछि तिनाउ नदीमा आएको बाढीले रुपन्देहीको बुटवल उपमहानगरपालिका-११, टप मझुवा क्षेत्रमा ६ वटा घर बगाएको छ । आइतबार बिहान तिनाउ नदीमा आएको बाढीले दुई वटा पक्की र चार वटा कच्ची घर बगाएको हो ।

बाढीले घर बगाए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बाढी प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा सारिएको छ ।

तिनाउ नदीको जलस्तर बढ्दै गएपछि बुटवलका तटीय क्षेत्रमा जोखिमसमेत बढेको छ । नदी आसपासका बस्तीमा बाढी पस्ने जोखिम रहेकाले स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवका अनुसार तिनाउ नदीको तटीय क्षेत्रमा जोखिममा रहेका करिब २०० घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।

लगातार वर्षा भइरहेकाले नदी तथा खोलाको जलस्तर अझै बढ्न सक्ने भन्दै प्रहरीले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

सम्बन्धित खबर