
चितवन । लगातारको वर्षापछि त्रिशूली नदीमा पानीको बहाव बढ्दा चितवनको सिमलतालमा मुग्लिन–नारायणगढ सडकखण्डको सडक भासिएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आइतबार बिहान करिब ८ः४५ बजे त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि सडकको करिब आधा भाग भासिएको हो ।
सडक भासिएपछि उक्त स्थानमा सवारीसाधन ठप्प छन् । वर्षाका कारण त्रिशूली नदीमा पानीको सतह बढेसँगै नदी किनारका सडक तथा संरचनामा कटानको जोखिम बढेको हो । पछिल्ला दिनमा यही क्षेत्रमा पहिरो र सडक भासिने समस्या दोहोरिँदै आएको छ ।
सडक डिभिजन भरतपुरको कार्यक्षेत्रमा पर्ने मुग्लिन-नारायणगढ सडकखण्ड पहिरो र नदी कटानका कारण वर्षायाममा पटक-पटक प्रभावित हुँदै आएको छ । यसअघि पनि त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्ग तथा मुग्लिन-नारायणगढ सडकखण्डका विभिन्न स्थानमा सडक भासिने, पहिरो जाने र यातायात प्रभावित हुने गरेका छन् । केही दिनअघि मात्रै पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा नदी कटान र पहिरोका कारण सडक प्रभावित भएको थियो ।
सिमलताल क्षेत्र यसअघि पनि ठूलो विपत्तिको केन्द्र बनेको थियो । २०८१ असार २८ गते यही क्षेत्रमा पहिरोले दुईवटा यात्रुवाहक बस त्रिशूली नदीमा बगाउँदा ठूलो मानवीय क्षति भएको थियो ।