बागलुङको निसीखोलामा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

दियोपोस्ट संवाददाता

बागलुङ । लगातारको वर्षासँगै खसेको पहिरोले बागलुङको निसीखोलामा एकै परिवारका चार जनाको ज्यान लिएको छ । निसीखोला गाउँपालिका-३ मा आइतबार बिहान घरमाथिबाट अचानक खसेको पहिरोले घर पुरिँदा ३९ वर्षीया श्यामकुमारी विकसहित उनका तीन छोराको मृत्यु भएको हो ।

मृत्यु हुनेमा श्यामकुमारीका १२ वर्षीय छोरा मनोज विक, ९ वर्षीय मुकेश विक र ५ वर्षीय निसान विक छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बिहान करिब ५ बजेको समयमा पहिरो खसेर घर पुरिएको थियो ।

पहिरोले घर पूर्णरूपमा पुरिएपछि स्थानीय, प्रहरी तथा जनप्रतिनिधिको सहयोगमा उद्धार तथा शव निकाल्ने काम भइरहेको छ । निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरका अनुसार पहिरो पन्छाएर शव निकाल्ने प्रयास भइरहेको छ ।

घटनास्थलमा पहिरोको ठूलो थुप्रो रहेकाले उद्धारमा कठिनाइ भइरहेको जनाइएको छ । घटनाबारे थप विवरण संकलन तथा क्षतिको आकलन गर्ने काम पनि भइरहेको छ ।

बाख्राको खोरसमेत पहिरोमा

सोही वडाको एङवेङमा जंगबहादुर खड्काको बाख्राको खोरसमेत पहिरोमा परेको छ । खड्काका अनुसार खोरमा रहेका २५ बाख्रामध्ये आठवटालाई पहिरोले बगाएको छ ।

लगातारको वर्षाका कारण निसीखोलाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको स्थानीयले बताएका छन् । यसअघि पनि निसीखोला क्षेत्रमा पहिरोका कारण घर तथा गोठमा क्षति पुगेर परिवारहरू विस्थापित भएका घटना सार्वजनिक भएका थिए ।

निसीखोलाको घटनाअघि नै बागलुङको ताराखोला गाउँपालिका-५ धस्मरमा पहिरोमा परी ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो । घरमाथिबाट खसेको पहिरोले उनको सुत्ने कोठा पुरेको प्रहरीले जनाएको छ ।

यससँगै लगातारको वर्षापछि बागलुङमा पहिरोबाट ज्यान गुमाउनेको संख्या थपिएको छ । छिमेकी जिल्ला पाल्पामा पनि पहिरोले घर पुरिँदा मानवीय क्षति भएको तथा केही व्यक्ति बेपत्ता रहेको विवरण सार्वजनिक भएको छ ।

लगातारको वर्षाले पहाडी क्षेत्रमा जमिन गलेपछि बस्ती तथा घरमाथिबाट पहिरो खस्ने जोखिम बढेको छ । स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन तथा सम्भावित जोखिम देखिए सुरक्षित स्थानमा जान आग्रह गर्दै आएको छ।