कालीगण्डकीको बाढीले पर्वतमा ८० घर बगायो, मानवीय क्षतिको विवरण आउन बाँकी

दियोपोस्ट संवाददाता

पर्वत । कालीगण्डकी नदीमा आएको भीषण बाढी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका-८ फर्सेमा करिब ८० घर बगाएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

स्थानीयका अनुसार शनिबार रातिदेखि नै कालीगण्डकीको बहाव बढेर बस्तीमा पस्न थालेको थियो । बाढीको जोखिम बढेपछि स्थानीयवासी सुरक्षित स्थानतर्फ सरेका छन् ।

प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बाढीबाट मानवीय क्षति भए-नभएको भने अझै यकिन हुन बाँकी छ । बस्तीका अन्य घरसमेत उच्च जोखिममा रहेको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण पर्वत र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेको थियो ।

सुरक्षाकर्मीले स्थानीयवासीसँगै घरभित्र रहेका जिन्सी तथा अन्य सामानसमेत सुरक्षित स्थानमा स्थानान्तरण गरेको प्रहरीले जनाएको छ । घटनास्थलमा विद्युत् सेवा अवरुद्ध हुनुका साथै मोबाइल फोन सम्पर्कमा समेत समस्या देखिएको छ । जसका कारण बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलनमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

डीएसपी थापाका अनुसार घटनाको थप विवरण संकलन भइरहेको छ । प्रारम्भिक विवरणमा करिब ८० घर बगाएको भनिए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको उनले बताए ।