चितवनमा घर डुबानमा परेपछि छतबाट गुहार मागिरहेका १० जनाको उद्धार

दियोपोस्ट संवाददाता

काठमाडौं । अति भारी वर्षाका कारण चितवन भएर बग्ने नारायणी नदीमा आएको बाढी बस्तीमा पसेपछि १० जनाको उद्धार गरिएको छ । आइतबार बिहान करिब १०ः३० बजेको समयमा उनीहरूलाई उद्धार गरिएको हो ।

आइतबार बिहान करिब १०:३० बजे चितवनको भरतपुर महानगरपालिका-१६ झनझने भन्ने स्थानबाट १० जनाको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको हो ।

अविरल वर्षाका कारण नारायणी नदिको बहाव बढ्न गई गुम्बाचोक लगायतका स्थानमा रहेका ३ वटा घर डुबानमा परेका थिए । घर डुबानमा परेपछि छतमा बसिरहेका १० जनालाई सशस्त्र प्रहरी बलले उद्धार गरेको हो ।

सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. १७ गणबाट गएको सुरक्षा फौजले रबरबोटको प्रयोग गरी उनीहरूको उद्धार गरेको हो । उद्धारपछि उनीहरूलाई हाल सुरक्षित स्थानमा राखिएको छ ।