वर्षाका कारण घर भत्किँदा धनुषामा एक महिलाको मृत्यु

दियोपोस्ट संवाददाता

धनुषा । अविरल वर्षाका कारण घर भत्किँदा धनुषामा एक महिलाको मृत्यु भएको छ । मिथिला नगरपालिका-११, आँपगाछी चोकमा शनिबार बिहान घर भत्किँदा स्थानीय ४२ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको हो ।

उनी सिन्धुली सडकखण्ड नजिकै रहेको आँपगाछी चोकमा बस्दै आएकी थिइन् । टिनको छानो भएको काठको घरमा पहिरो खस्दा बिहान करिब ९ः५० बजे श्रेष्ठ पुरिएकी थिइन् । घटना लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा नेपाली सेनाको संयुक्त उद्धार टोली घटनास्थल पुगेको थियो ।

उद्धार टोलीले जेसीबीको सहयोगमा घरको भग्नावशेष हटाएर श्रेष्ठको शव निकालेको हो । शव पोस्टमार्टमका लागि बर्दिबास अस्पताल, महोत्तरी पठाइएको प्रहरीले जनाएको छ ।

उद्धारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस नक्टाझिज, धनुषा र सुरक्षा बेस गौरीडाँडा, महोत्तरीका टोलीसमेत परिचालित भएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।