
काठमाडौँ । पाँच दिनदेखि लगातारजसो भइरहेको वर्षाका कारण प्रभावित बनेको काठमाडौँ उपत्यकामा आइतबार दिउँसोदेखि घाम लागेको छ । लगातारको वर्षापछि आकाश खुलेर घाम लागेसँगै काठमाडौँवासीले केही राहत महसुस गरेका छन् । बिहानसम्म वर्षाको अवस्था रहे पनि पछिल्लो समय मौसममा सुधार आएको हो ।
भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएसँगै नेपालमा वर्षाको गतिविधि पनि क्रमशः घट्दै जाने मौसमविद्ले जनाएका छन् । लामो समयदेखि परेको वर्षाका कारण उपत्यकाका सडक, गल्ली तथा खुला क्षेत्रमा पानी जमेको थियो । वर्षाका कारण दैनिक आवागमनसमेत प्रभावित बनेको थियो ।
घाम लागेसँगै सडकमा चहलपहल बढ्न थालेको छ भने वर्षाका कारण भिजेका सडक तथा सार्वजनिक स्थानहरू सुक्न थालेका छन् । यद्यपि, मौसम पूर्णरूपमा सफा भइसकेको भने छैन । मनसुनजन्य प्रणालीको प्रभावका कारण पुनः वर्षा हुन सक्ने सम्भावना कायमै रहेकाले सतर्कता अपनाउनुपर्ने अवस्था रहेको छ ।
लगातारको वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानको जोखिम बढिरहेका बेला काठमाडौंमा लागेको घामले भने केही समयका लागि भए पनि जनजीवन सहज बनाएको छ।




