
बैतडी । लगातारको वर्षाले बैतडीमा पहिरोको जोखिम बढेको छ । आइतबार बिहान घरमाथिबाट खसेको पहिरोले दशरथचन्द नगरपालिका-४, बवेतका एक घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ भने पाँच घरसमेत जोखिममा परेका छन् ।
पहिरो खसेपछि बवेतका ६ घरपरिवारका ३१ जना विस्थापित भएका छन् । पहिरोले स्थानीय किशोर वडको घरमा पूर्ण क्षति पुर्याएको छ । घरमाथिबाट एक्कासि पहिरो खसेपछि किशोर वडको परिवारका सात जना भागेर ज्यान जोगाउन सफल भएका छन् ।
पहिरोका कारण जगदिशबहादुर वड, कृष्णबहादुर वड, लक्षीराम वड, दमन वड र नरेश वडका घरसमेत जोखिममा परेका छन् । जोखिम बढेपछि ती परिवारलाई घरबाट सुरक्षित स्थानमा सारिएको हो ।
‘पहिरोले ६ परिवारका ३१ जना विस्थापित भएका छन्,’ पहिरोपीडित जगदिशबहादुर वडले बताए ।
जिल्ला प्रशासन कार्यालय बैतडीले विस्थापित परिवारलाई थप सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी मीना अर्यालका अनुसार पहिरोको जोखिम कायमै रहेकाले सम्भावित क्षति न्यूनीकरणका लागि सुरक्षा निकाय परिचालन गरिएको छ ।
राजमार्गमा पनि पहिरो
पहिरोले सडक सञ्जालसमेत प्रभावित बनाएको छ । दशरथचन्द राजमार्गअन्तर्गत खोड्पे क्षेत्रको मानिकाखानमा पहिरो खसेपछि केही समय सडक अवरुद्ध भएको थियो । प्रशासनका अनुसार तत्काल पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ ।
तर सडक खुले पनि जोखिम भने हटेको छैन । लगातार वर्षा भइरहेकाले राजमार्ग तथा ग्रामीण सडकमा थप पहिरो खस्ने सम्भावना रहेको प्रशासनले जनाएको छ ।
विद्यालय भवनमाथि पहिरो
निरन्तर वर्षाको अर्को असर मेलौली नगरपालिकामा परेको छ । मेलौली नगरपालिका–९ स्थित विशालपुर माध्यमिक विद्यालयको भवनमाथि पहिरो खस्दा भवनमा पूर्ण क्षति पुगेको विद्यालयका शिक्षक वीरुवाराम लोहारले जानकारी दिए ।
विद्यालय भवनमै पहिरो खसेपछि पठनपाठन र विद्यार्थीको सुरक्षामाथि समेत प्रश्न उठेको छ ।
सवारी सञ्चालनमा रोक
भारी वर्षाका कारण जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लाभर सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।
शनिबारदेखि लगाइएको रोक आइतबार पनि निरन्तरता दिइएको हो । वर्षा नरोकिएपछि बाढी, पहिरो तथा सडक दुर्घटनाबाट हुन सक्ने मानवीय क्षति रोक्न सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् ।
यसैबीच जिल्ला सुरक्षा समितिको बैठक बसेको छ । बैठकले बाढी तथा पहिरोबाट विस्थापितको उद्धार, राहत तथा क्षतिको विवरण संकलनलाई प्राथमिकता दिएको प्रशासनले जनाएको छ ।
लगातारको वर्षा अझै नरोकिएकाले बैतडीमा पहिरोको जोखिम तत्काल टरेको छैन । विशेषगरी पहिरो प्रभावित बस्ती र सडक आसपासका क्षेत्रमा थप क्षति हुन नदिन स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।