मनसुनको कहरः बाढीपहिरोमा १२ जनाको मृत्यु, दर्जनौँ सडक ठप्प

दियोपोस्ट संवाददाता

काठमाडौँ । मनसुन सुरु भएयता बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२ जनाको मृत्यु भएको हो ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पछिल्लो विवरणअनुसार पाल्पा, सिराहा, सुर्खेत, रोल्पा, बागलुङ, रुकुम पश्चिम, काभ्रेपलाञ्चोक र मकवानपुरमा मानवीय क्षति भएको छ ।

असोज ९ गते पाल्पाकी एक महिला बेपत्ता भएको पनि प्राधिकरणले जनाएको छ ।
वर्षा नरोकिँदा बाढी र पहिरोको असर सडक सञ्जालमा समेत व्यापक परेको छ । देशका विभिन्न स्थानमा राजमार्ग तथा प्रमुख सडकखण्ड पहिरो, सडक कटान, बाढी र रुख ढलेका कारण अवरुद्ध भएका छन्।

प्राधिकरणले आइतबार दिउँसो १ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै सडकमार्गबाट यात्रा गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

पृथ्वी राजमार्गदेखि बीपी राजमार्गसम्म ठप्प
बागमती प्रदेशका प्रमुख सडकखण्डमा बाढीपहिरोको प्रभाव गम्भीर देखिएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर, परेवाभिर र टिडरासखानीमा पहिरो खसेको छ। चितवनको धारापानीमा सडक भासिएपछि यातायात ठप्प भएको छ ।

कान्ति लोकपथअन्तर्गत ललितपुरको बागमती र गोदावरी क्षेत्रमा पहिरो तथा रुख ढलेका कारण सडक अवरुद्ध छ । मकवानपुरको खहरे खोल्सामा लेदो आएपछि सडक सञ्चालन हुन सकेको छैन ।

बीपी राजमार्गअन्तर्गत काभ्रेको घुमाउने, कालढुङ्गा र पिन्थलीवेशीमा सडक कटान तथा पहिरोले यातायात रोकेको छ । सिन्धुलीको बालुवामा बाढीले सडक अवरुद्ध पारेको छ ।

रसुवागढी–त्रिशूली–मैलुङ–काठमाडौं जोड्ने सडकखण्डमा समेत बाढीका कारण सवारी सञ्चालन हुन सकेको छैन ।

गण्डकीमा पनि सडक सञ्जाल प्रभावित
गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, तनहुँ, लमजुङ र बागलुङका विभिन्न सडकखण्ड पहिरोका कारण प्रभावित भएका छन् । मन्थली–खुर्कोट, चामे–बेंसीसहर, जोमसोम–कोरला र बेनी–जोमसोम सडकखण्डमा पहिरोका कारण यातायात बन्द छ ।

डुम्रे–बेंसीसहर तथा बेंसीसहर–मनाङ सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेको छ। रामबजारमा सडक भासिएपछि आवागमन अवरुद्ध भएको छ । मध्यपहाडी राजमार्गअन्तर्गत निसीखोला, बडिगाड र ढोरपाटन क्षेत्रमा पहिरो खसेपछि सवारी आवागमन रोकिएको छ ।

पर्वतको तमादी खोलामा भने पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ ।

लुम्बिनी र कर्णालीमा पनि राजमार्ग अवरुद्ध
लुम्बिनी प्रदेशमा कालिगण्डकी करिडोरअन्तर्गत गुल्मीको राक्से, सिस्नेभिर र तल्लोखादमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । कर्णालीमा कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका र तिलागुफा–९ स्थित तिर्खगाडा खोलामा पहिरो गएको छ। पहिरोका कारण सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

राप्ती राजमार्गको सल्यानस्थित खारखोला खण्ड र भेरी करिडोरको डोल्पास्थित अन्बेदुला खण्डमा समेत पहिरो गएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।
प्राधिकरणका अनुसार अवरुद्ध सडकमा पहिरो पन्छाउने र यातायात सञ्चालनमा ल्याउने काम भइरहेको छ ।

तर वर्षा निरन्तर भइरहेकाले सडक खुलाउने काम चुनौतीपूर्ण बनेको छ । प्राधिकरणले जोखिमयुक्त सडकखण्डमा अनावश्यक यात्रा नगर्न र यात्रा गर्नैपर्ने अवस्थामा स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र अघि बढ्न आग्रह गरेको छ ।